दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री आज कञ्चनपुर जाँदै

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदैछन् ।

प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिएका छन् ।

सरकारले यसै साता चार औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ११ गते बाँकेमा नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रमस्थलमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था मजबुत बनाइएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

प्रतिनिधि सभा भंग गरेयता यसअघि प्रधानमन्त्री ओली पुस २५ गते नेकपा ओली समूह सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्न आएका थिए ।

यसैगरी अर्थमन्त्री विष्णु पौडेलले १३ गते रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै १७ गते मकवानपुरमा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको दमकमा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रम तय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्