प्रधानमन्त्री ओलीले जब उपराष्ट्रपतिको ‘अपमान’ गरे..(भिडियोसहित)

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । फागुन ७ गते शुक्रवार सैनिक मञ्च टुँडिखेलमा आयोजि प्रजातन्त्र दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उप–राष्ट्रपति नन्दबहादुर पुनको ‘अपमान’ गरेका छन् ।

सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनबाटसमेत प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रमको भिडियोमा उपराष्ट्रपतिलाई प्रधानमन्त्रीले ‘अपमान’ गरेको देख्न सकिन्छ ।

औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रपति विद्यादेवि भण्डारी कार्यक्रमस्थलबाट विदा हुँदै गर्दा भिडियोमा उपराष्ट्रपतिमाथि प्रधानमन्त्रीको भलाकुसारी प्रसारण भएको थियो । उक्त भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

प्रजातन्त्र दिवसको कार्यक्रम सकिएपछि राष्ट्रपति बाहिरिँदै गरेको भिडियोमा देख्न सकिन्छ । त्यसअघि उनी सबैसँग नमस्कार गर्दै बिदाबारी भएकी थिइन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा लगायतले राष्ट्रपतिलाई नमस्कार गर्दै बिदा गरेका थिए ।

राष्ट्रपति हिँडे लगत्तै प्रधानमन्त्री ओली आफ्नो आशनबाट उपराष्ट्रपति पुन भएको स्थानमा पुग्छन् र केही भन्छन् ।

उपराष्ट्रपतिको आसन नजिकै आएर प्रधानमन्त्रीले असन्तुष्टि पोखेको उनी निकट स्रोत बताउँछ ।

“उपराष्ट्रपति हिँड्ने तयारी गर्दै हुनुहुन्थ्यो । प्रधानमन्त्रीले मञ्चमै आएर ‘राजनीतिक भाषण गर्दै हिँड्ने ?’ भनेर असन्तुष्टि राख्न थाल्नुभयो,” उनीनिकट स्रोतले भन्यो ।

प्रधानमन्त्रीले क्षुब्ध भावमा अभिव्यक्ति राखेपछि उपराष्ट्रपति अलमलमा परेका थिए । उनले आफूले त्यस्तो राजनीतिक भाषण नगरेको बताउँदै बोलेका कुराहरू टेक्स्ट नै पठाउन सक्छु भनेको स्रोतको भनाइ छ ।

तर, प्रधानमन्त्रीले ‘प्रतिवाद नै गर्न खोजेको हो त’ ? भन्दै भनिरहे । त्यसको प्रतिवाद गर्दै उपराष्ट्रपतिले तपाईंचाहिँ जे पनि गर्दै हिँड्ने भनेपछि प्रधानमन्त्री ओली त्यहाँबाट आफ्नो आशन तिर गएका थिए । राष्ट्रपतिपछि कार्यक्रमबाट उपराष्ट्रपति बाहिरिन्छन् । यस्ता औपचारिक कार्यक्रमहरुबाट बाहिरिँदा जसलाई मनलाग्यो उ पहिला निस्कन मिल्दैन । यसको सिलसिला हुन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख हुँदै बाहिरिने रोलक्रम रहेको हुन्छ।

यही प्रचलन अनुसार राष्ट्रपति पछि उपराष्ट्रपति कार्यक्रमस्थलबाट बाहिरिन खोज्छन् ।

बिदा हुँदै गर्दा पुनले आफूभन्दा पछाडिको सिटमा बसेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, सभामुख सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नमस्कार गर्छन् र उनीहरुले पनि नमस्कार फर्काउँछन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने उपराष्ट्रपति पुनले गरेको नमस्कारलाई वेवास्ता गर्छन् ।

सामान्यतया यस्ता औपचारिक कार्यक्रममा प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपतिलाई शिष्टाचार अभिभादन गर्ने प्रचलन रहेको छ । तर रिसाएका ओलीले शिष्टारलाई वेवास्ता गरे ।

माथि नै उल्लेख गरिएको छ उपराष्ट्रपति पुनमाथि प्रधानमन्त्री ओलीले राजनीतिक भाषण गर्दै हिँड्ने भन्दै आक्रोश पोखेका थिए । आखिर उपराष्ट्रपति पुनले के राजनीतिक भाषण गरेका थिए जसका कारण प्रधानमन्त्री ओली उपराष्ट्रपति पुन माथि यति क्षुब्ध भएर प्रस्तुत भएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन मन्तव्य दिँदै प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भनेका थिए ।

उनले भनेका थिए– देश अहिले राजनीतिक संकटको भुमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ । यसको विरोध र समर्थनमा प्रदर्शन भइरहेका छन् । नागरिकस्तरबाट गणतन्त्रको प्रस्ताव गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघको तर्फबाट तपाईंहरूले प्रतिनिधिसभा विघटन भएकै दिन यसलाई ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध’ भन्नुभएको छ । पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू, संविधानविद्हरू, नागरिक समाज, प्रायः राजनीतिक पार्टीहरू, संघसंस्थाहरूका साथै अधिकांश तपाईं पत्रकार मित्रहरूले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिरहनुभएको छ । नेपाली जनता राजनीतिक स्थायित्व, समृद्धि, विकास निर्माण, आर्थिक–सामाजिक जीवनमा परिवर्तनका साथै संविधानको पालन, संरक्षण र संविधानप्रदत्त अधिकार प्रयोग गर्न चाहन्छन् । प्रतिनिधिसभा विघटनपछि गहिरिँदो राजनीतिक संकटबाट जनतामा निराशा र आक्रोश छाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संघीय संसदको प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

त्यसपछि सत्तारुढ दल प्रचण्ड–नेपाल पक्ष र ओली पक्षमा विभाजित बनेको छ ।

पाँच वर्षका लागि अभिमत पाएको संसद कार्यकाल पूरा नहुँदै र असंवैधानिक रुपमा विघटन गरेको भन्दै प्रचण्ड माधव समूह, नेपाली कांग्रेस, अन्य राजनीतिक दलहरु, नागरिक समाज लगायतले विरोध गरिरहेको छ।

प्रधानमन्त्रीलाई राष्ट्रपतिले साथ दिएको भन्दै आलोचना जारी रहँदा तत्कालीन माओवादी पक्षबाट उपराष्ट्रपति बनेका पुन र सभामुख सापकोटाले त्यसको प्रतिवाद गरेका छन् ।

सभामुखले यसअघि नै प्रधानमन्त्रीको कदमको विरोध गरेको भएपनि उपराष्ट्रपतिले औपचारिक रुपमा पहिलो पटक विरोध जनाएका थिए जसका कारण प्रधानमन्त्री ओली उनीप्रति असहिष्णु र क्षुब्ध बनेका थिए ।

यसैक्रममा शनिवार विराटनगरमा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिको आलोचना गरेका थिए ।

‘…अब उपराष्ट्रपतिजी सरकारकाविरुद्ध भाषण गरेर हिँड्नुभएको छ । म उहाँलाई भन्न चाहन्छु–उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो अथवा प्रजातन्त्र मासियो आदि कुरा । प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो चुनाव गर्न पाइँदैन । उहाँ त चुनाव नगर्ने नै पृष्ठभूमिबाट आउनुभयो । अब त कमसेकम चुनावको तिर आउनुस्’ विराटनगरमा शनिवार ओलीले भनेका थिए ।

संसद विघटन विरुद्ध सर्वोच्चको संवैधानिक इजलाशमा सुनुवाई जारी छ । यस्तो समयमा अदालतले दिने फैसलाई कुर्नुको सट्टा सरकार प्रमुख भएर शिष्टाचार गर्नुपर्ने संस्था र व्यक्तिमाथि गरिएको यस्तो हर्कतको सवत्र आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्