महिलामाथि बलात्कार गर्न सघाएको भन्दै बझाङमा महिला नै पक्राउ

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


चैनपुर । महिलामाथि भएको जबर्जस्ती करणी (बलात्कार)को घटनामा सघाएको आरोपमा बझाङ प्रहरीले महिला नै पक्राउ गरेको छ ।

गत वर्ष (१९ फागुन २०७६)मा भएको बलात्कारको घटनामा सघाएको आरोपमा प्रहरीले बझाङको केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना भएको मितिदेखि फरार रहेकी कालीदेवीलाई आइतबार सिराडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । प्रहरीका अनुसार ती महिलाले बलात्कारमा सघाएको अनुसन्धानबाट खुल्न आएको छ ।

पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार आइतबार पक्राउ परेकी धामीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ ।

सोही मुद्दामा फरार रहेका अर्का आरोपित दिपकबहादुर गुर्धामीको भने खोजी कार्य भइरहेको डीएसपी खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्