प्रदेश सभाको बैठक रोक्न मुख्यमन्त्री राईको दबाब, सभामुख भण्डारीद्वार अस्वीकार

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज (आइतबार) बस्ने प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित गर्न सभामुखलाई दबाब दिएका छन् ।

सभामुख प्रदिप कुमार भण्डारीले भने प्रदेश सभाको बैठक रोक्ने ‘दबाबमूलक’ प्रस्ताव अस्वीकार गरिदिएका छन् । आज (आइतबार) बिहान मुख्यमन्त्री राई र सभामुख भण्डारीबीच छलफल भएको थियो ।

सभामुखसँगको छलफलका क्रममा मुख्यमन्त्री राईले ‘आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्‍यो’ भनेका थिए । तर, सभामुख भण्डारीले आफूले बैठक स्थगित गर्न नसक्ने जवाफ दिएका उनी निकट स्रोतले जानकारी दियो ।

‘मुख्यमन्त्रीज्यूले सभामुखज्यूलाई सूचना टाँस गरेर बैठक स्थगित गरिदिनुपर्‍यो भन्नु भएको थियो । बैठक रोक्न उहाँले एकहिसाबले दबाब नै दिनुभएको थियो,’ सभामुख भण्डारी स्रोतले भन्यो, ‘तर, सभामुखज्यूले प्रदेश सभा बैठक स्थगित गर्न सकिँदैन । प्रक्रियाअनुसार आज अविश्वासको प्रस्ताव पनि टेबल हुन्छ, म रोक्न सक्दिनँ भन्नुभयो ।’

आइतबार दिउँसो २ बजे बस्ने गरी प्रदेश सभा बैठक बोलाइएको छ । यसअघि माघ २५ गतेको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो । तर, मुख्यमन्त्री राई पक्षका सांसदहरुले अवरोध गरेपछि माघ २५ गतेको बैठक स्थगित भएको थियो ।

माघ २५ गते यता १४ दिनका लागि सभामुख भण्डारीले प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

संघीय संसदको प्रतिनिधि सभा विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहमा रहेका मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।

राईविरुद्ध गत पुस १२ गते नेकपाको प्रचण्ड-माधव समूहका ३७ जना प्रदेशसभा सदस्य (सांसद)हरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यसबीचमा मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव फिर्ता लिइदिन प्रचण्ड-माधव पक्षका नेताहरुलाई आग्रह पनि गरेका थिए । तर, प्रचण्ड-माधव समूहका नेताहरुले अविश्वासको प्रस्ताव फिर्ता नहुने अडान लिए ।


प्रतिक्रिया दिनुहोस्