एसएसबीले नेपालीमाथि दुर्व्यवहार गरेपछि बेलहिया र सुनौली नाका दुई घण्टा ठप्प

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अभद्र व्यवहार गरेको भन्दै नेपाली पक्षले रुपन्देहीको बेलहिया नाकामा अवरोध गरेका छन्।

शनिबार बेलहिया स्थानीय र सामान खरिद गर्न अन्यत्रबाट आएका नेपालीले बेलहिया–सुनौली दशगजा क्षेत्रमा नाराजुलुुस गरेपछि दुई घण्टा नाका ठप्प भएको हो।

उनीहरुले किनमेलका लागि भारतीय बजार सुनौलीमा पुगेका नेपालीहरुलाई एसएसबीले अपशब्द बोल्ने, कुकुर लगाएर लखेट्ने, सामान खोसिदिने गरेको बताए।

सधैँभरी भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि अभद्र व्यवहार हुँदै आएको बताउँदै नाका ठप्प पारेर विरोधमा उत्रिएको जनाएका छन्। शनिार दिउँसो १२ बजेदेखि २ बजेसम्म सीमानाका पूर्णरुपमा बन्द भएको प्रहरीले जनाएको छ।

‘म सामान किन्न भनेर भारततर्फ जाँदै थिए, भारतको गेट छिर्नै लाग्दा एसएसबीले कुकुर लगाएर लखेटे, अपशब्द बोले’, रुपन्देहीको तिलोत्तमाकी मुना भण्डारीले भनिन्, ‘ममाथि अभद्र व्यवहार भएपछि स्वतस्फूर्त रुपमा नेपाली दाजुभाइ दिदीबहिनीहरु आन्दोलनमा उत्रिएका हुन्।’

सीमामा झडपकै अवस्था आउन लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यापक परिचालन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्