६ लाख रुपैयाँ घुससहित मालपोत कार्यालयका हाकिम पक्राउ

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १ : ४६


काठमाडौं । बारास्थित मालपोत कार्यालयका प्रमुखसहित २ जना ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारास्थित मालपोत कार्यालयका प्रमुख (नायव सुब्बा) मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद धिताल छन् ।

पूर्वसूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

घुस लिइसकेको अवस्थामा दुवै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित जर्गा होटलबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिए ।

रिमालका अनुसार उनीहरुले जग्गा खरिद गर्न लागेका व्यक्तिले उक्त जग्गा श्रम विभागबाट रोक्का रहेको र आफूहरुले उक्त जग्गा फुकाइदिने भन्दै घुस रकम माग गरेका थिए ।

जग्गा पास गर्न जाँदा घुस रकम माग गरिएको भन्ने सेवाग्राहीको उजुरी र सूचनाको आधारमा अख्तियारको केन्द्रीय कार्यालयबाट टोली बारातर्फ गएको थियो ।

घुस रकम लिइसकेको अवस्थामा होटलबाट पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता रिमालको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्