केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाँदै प्रचण्ड-नेपाल समूह

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ४१


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकता (सक्कल प्रति)सहित निर्वाचन आयोग जाने भएको छ ।

केन्द्रीय कमिटीका बहुमत सदस्यहरु आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबी गर्नका लागि केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जान लागेको हो ।

प्रचण्ड-नेपाल समूहले बिहीबार नै सर्कुलर जारी गरेर आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई शुक्रबार मध्याह्नसम्म नागरिकताको सक्कल प्रतिसहित केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन भनेको थियो । पेरिसडाँडामा भेला भएपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहित निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय जाने तयारी गरिएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि नेकपा २ खेमामा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले गरेका छन् भने अर्को खेमाको अध्यक्ष प्रचण्ड र नेपालले गरेका छन् ।

संसद विघटनविरुद्ध आन्दोलनमा समेत रहेको प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले ओलीलाई अध्यक्षबाट हटाएको निणर्य यसअघि नै गरिसकेको थियो । तर, आयोगले भने पुस ५ गतेपछि नेकपाका दुवै खेमाले गरेका निणर्यहरु मान्य नहुने भनेको छ ।


प्रतिक्रिया दिनुहोस्