विवादमा श्वेता: प्रति घर ४ लाख ऋणमा माझी परिवार !

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पछिल्लो केही दिनयता अभिनेत्री श्वेता खड्का चर्चामा रहेकी छिन् ।

मंसिर २२ मा काठमाडौको गोकर्ण रिसोर्टमा उनले विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी थिइन् । त्यसयता उनी निरन्तर जसो चर्चामा छिन् ।

नायक श्रीकृष्ठ श्रेष्ठसँग विवाह गरेको एक महिनामै वियोग भोगेकी श्वेताले दोस्रो विवाह गरेसँगै उनको चर्चा शुरु भएको हो । उनले विवाहमा लगाएको पोशाकदेखि तीन दिनसम्म गरेको पार्टीमाथिको चर्चा र टिप्पणी सेलाउन नपाउँदै उनी फेरि चर्चामा छिन् ।

भूकम्पले क्षति पुगेको सिन्धुपाल्चोकको एक माझी बस्ती बनाउने घोषणा गरेसँगै अभिनेत्रीबाट समाजसेवी बनेकी श्वेता त्यही बस्तीका कारण पुन चर्चामा आएकी हुन् ।

पूर्वपति स्वर्गीय श्रेष्ठको जन्मस्थानमा बस्ती निर्माण गर्ने घोषणा गरेर वाहावाही कमाएकी श्वेता अहिले सोही बस्तीका कारण संकटमा परेकी छिन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १४ झ्याडी एकीकृत नमूना बस्तीमा श्वेता श्री फाउन्डेशनले ५३ वटा घरसहितको बस्ती बनाउने घोषणा गरेको थियो ।

तर अहिले बस्ती निर्माणमा आर्थिक अभाव भएको र श्वेताले त्यहाँबाट हात झिक्न लागेको भन्दै चर्चा चलिरहेको छ । यद्दपी उनले यो भनाइको खण्डन गरेकी छिन् ।

विवाह कार्यक्रम भव्य गर्न पैसा अभाव नहुने श्वेतालाई माझी बस्ती बनाउन आर्थिक अभाव भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी जारी छ । उनीविरुद्ध गरिएका टिप्पणीहरु बढ्दै जाँदा सामाजिक सञ्जालबाट श्वेताले स्पष्टिकरण दिएकी छिन् र आफूले माझी बस्तीबाट एक पैसा पनि खाएको भए कालोमोसो दलेर घुमाउन चुनौती नै दिइन् ।

सञ्चारमाध्यमहरुमा श्वेताले सिन्धुपाल्चोकमा माझी बस्ती बनाएको भन्दै समाचारहरु पनि बने । त्यसकै लागि भन्दै उनले विभिन्न व्यक्ति र संघ संस्थाबाट आर्थिक संकल पनि गरेकी छिन् तर उनको यो काम पारदर्शी नभएको भन्दै टिप्पणी भएको छ । माझी बस्ती बनाउने घोषणापछि नाम र दाम दुबै कमाएकी श्वेताले त्यसलाई चर्चा कमाउने साधन मात्र बनाएको भन्दै केहीले आलोचना गरिरहेका छन् ।

पूरा भएको छैन काम

२०७४ साल माघमा श्वेताले माझीबस्ती निर्माणको औपचारिक घोषणा गरेकी थिइन् । घोषणाको तीन वर्ष पूरा भइसक्दा पनि माझी बस्ती निर्माणको काम सकिएको छैन ।

‘श्वेता श्री फाउण्डेसन’ का नाममा सहयोग रकम जुटाएर बस्ती निर्माणको काम श्वेताले अघि बढाएको भन्दै चर्चा चलेको भएपनि सिन्धुपाल्चोकको उक्त माझी बस्तीका बासिन्दाले भने आफूहरुको घर श्वेताले नबनाएको बताइरहेका छन् ।

माझी बस्तीका बासिन्दाका अनुसार उक्त घर बनाउन सरकारले भूकम्पपीडितका लागि दिएको तीन लाख अनुदानसहित प्रत्येक घरलाई चार लाख ऋण थोपरिएको छ ।

नेपाली फिल्म क्षेत्रका बारेमा रिपोर्टिङ गर्दै आएको ‘फिल्मी नेपाल’ले तयार पारेको एक भिडियो रिपोर्टमा जनाइए अनुसार उक्त बस्ती श्वेताले नभई स्थानीयले नै बनाएको पाइएको छ ।

स्थलगत रुपमा तयार गरिएको रिपोर्टमा चन्द्रमाया माझीले घर श्वेताले नभइ आफूहरुले बनाएको बताएकी छिन् ।

उनले भनेकी छिन्,‘ ऋणमा घर बनाइदिएका छन् । ४ लाख के गरि तिर्नु ? महिनाको सात हजार बैंकमा तिर्नुपर्छ। बच्च पढाउनु कि खान दिनु कि त्यहाँ तिर्नु, अहिले खाए भरे के खाउँ भन्ने अवस्था छ, बालबच्चा पढाउन प¥यो ?’

तपाईको घर श्वेताले बनाएको भनेको होइन बैंकलाई ऋण किन भन्ने प्रश्नमा उनी भन्छिन्,‘होइन होइन हामीले नै बनाएको हो । आफैंले दुख गरेर बनाएको हो । हामीले अरुको जग्गामा घर बनाएको हो अहिले त्यसको पनि डेढ लाख मागिरहेका छन् अब कसरी तिुर्न ? उनले प्रश्न गरिन् ।’

त्यस्तै माझी बस्तीका अर्का स्थानीय मानबहादुर माझीले पनि आफूहरुले बैंकको ऋण तिरिरहेको भन्दै उनले आक्रोश पोखे ।

शुरुमा श्वेताले प्रत्येक घर धुरी चार लाख दिने भएको भएपनि अहिले आफूहरुले महिनाको ७ हजारका दरले ऋण तिरिरहेको उनले बताए ।
‘सुरुमा एक सरले आएर तीन लाख नेपाल सरकारले दिएको र चार लाख श्वेता तर्फबाट भन्नु भएको थियो तर अहिले हाम्रो कलेजो मुटु फुटेको छ । यो ऋण कसरी तिर्नु ? दिन रात काम गर्नुपरेको छ । गरिबको छाउरो कहिँ रोजगार नभएको मान्छेले के गरि खानु होला ?’

श्वेताले ४ लाख दिनु भएन त ? भन्ने प्रश्नमा उनले अघि भनेका छन्,‘श्वेता खड्काले बनाउने भनेर काम अघि बढेको थियो, प्रत्येक घर धुरीलाई चार लाख श्वेताले दिनुहुन्छ भनेर कुरा गर्नुभयो तर अहिले हामीले ऋण तिर्नु परिरहेको छ । त्यसले गर्दा हामी यो घरनै छोडेर जानु न बस्नु भइरहेको छ ।’

अर्की स्थानीय कमली माझीले ७ लाखमा बनाएको घर बस्नका लागि नै नपुग्ने खालको भएको बताइन् । ७ लाखमा तीन कोठे घर बनाएको भन्दै उनले दुई जनापनि सुत्न मिल्दैन, सामान कहाँ राख्ने भन्दै प्रश्न गरिन् ।

‘घर बनाइदिएर के गर्नु ? दुई जना मानिस सुत्न पाउँदैन, सामान कहाँ राख्नु’ उनले भनिन्,‘४ लाख पैसा तिरिसक्यौं अरु पनि थप्नु भन्छन् नुन तेल खान छैन । आएर हेर्छन् भुडीमा भोग लागेको छ कसैले दिँदैनन् ।’

बस्ती निर्माणका लागि सरकारी अनुदानसहित प्रति घर ४ लाखका दरले ऋण लिएको र ऋणको व्यवस्थापन श्वेताले गरेको स्थानीय युवा सिताराम माझी बताउँछन् । उनले लक्ष्मी बैंकबाट स्वेता फाउन्डेसने ऋण मिलाइदिएको बताए ।

‘उहाँले शुरुमा ६० लाख पैसा चल्न हाल्नु भएको थियो सरकारी अनुदान आउने भएपछि उहाँको पैसा फिर्ता भएको छ’ उनले भने ।

इन्जिनियरिङपाटो र उनीहरुको डिजाइन अनुसार बस्ती बनेको उनले बताए । ‘बाटो देखाइदिनु भयो, नमूना बस्ती बनाउँछु भन्नु भयो तर त्यो भ्रम हो हामीले नै बनाएको हौं’ उनले भने ।

स्थानीय झमलादेवी आधारभूत विद्यालयकी शिक्षिका मनिका माझी पनि बस्ती श्वेताले नबनाएको बताउँछिन् । उनी भन्छिन्, ‘सुरुमा सरकारले दिएको तीन लाखले घर बनाउँछौँ भनेका थियौँ, त्यसले नपुगेपछि फेरि चार लाख रूपैयाँ ऋण लिएर बस्ती निर्माणको काम थालेका छौँ ।’

मनिकाका अनुसार प्रत्येक घर माझीले मासिक सात हजार रूपैयाँका दरले ऋणको किस्ता तिरिरहेका छन् । ‘बस्तीमा पर्खाल लगाउने काम भइरहेको छ, सोही पर्खाल निर्माणमा खटेर माझीहरूले बैंकलाई तिर्ने किस्ता जुटाइरहेका छन्,’ मनिका भन्छिन्, ‘अहिलेसम्म त जसरी पनि किस्ता तिरिरहेका छन्, यो रकम जुटाउन सकस पर्छ ।’

उनी भन्छिन्, ‘यी घर हामीले नै बनाएको हो, हाम्रै मेहनत परेको छ, हामीले नै दुःख गरेका छौँ ।’ उनले श्वेताले साझेदारी र सहयोगीको भूमिका निर्वाह गरेको बताइन् ।

काम अन्तिम चरणमा पुग्यो

श्वेताले भने माझी बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको दावी गरेकी छिन् । उनले माझी बस्तीलाई लिएर आफूमाथि लगाइएका आरोपहरु निराधार भएको समाजिक सञ्जालबाट प्रष्टिकरण दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘हिजो माझी बस्तीले आर्थिक अभावले झेलेर निर्माणको काम रोकिँदै गर्दा चुइँक्कसम्म नबोल्नेहरू अहिले मतिर फर्किएर प्रश्न गर्दैछन्, तैँले यो बस्तीमा के योगदान गरिस् ?’

श्वेताले आफूले कसैसँग पनि जबरजस्ती सहयोग नलिएको जिकिर गरेकी छन् । उनले लेखेकी छन्, ‘जीवनमा कसैसँग हात फिँजाएर भिख नमाग्ने प्रण गरेकी मैले माझी टोलको लागि हात फैलाएकी छु, सहयोगको अपील गरेकी छु तर आजका दिनसम्म कोही कसैलाई जोर जबरजस्ती गरेर सहयोग दिन लगाएकी छैन ।’

उनले दाताहरूलाई कहिल्यै पनि श्वेता श्री फाउन्डेसनको खातामा नभई सोझै उपभोक्ता समितिको खातामा रकम पठाउन आग्रह गरेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘स्थानीय उपभोक्ताहरूको बैंक खाता र हाम्रो बैंक खाता केलाएर हेर्दा हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौँको कारोबार भएको देखिन्छ ।’

सरकारले अनुदान उपलब्ध गराएपछि कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नमिल्ने प्रावधानका कारण आफूले सहयोग गर्न नमिलेको श्वेता बताउँछिन् ।

आफू विवादमा परेकोबारे श्वेताले लेखेकी छन्, ‘सरकारी अनुदान बाहेक अन्य नपुग रकम चार लाख रूपैयाँ ऋण स्वरूप लक्ष्मी बैंकबाट लिने भनेर साझा समहति जुटाउने पनि स्थानीय उपभोक्ता समिति नै हो । याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरूलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सहयोग गर्न नपाउने प्रावधान छ ।’

उनले लेखेकी छन्, ‘मैले बस्ती निर्माणको काम रोकिँदै गर्दा व्यक्तिगत रूपमा ३२ लाख रूपैयाँ दिएर काम सुचारु गरेकी छु । विभिन्न दाताले घर बाहेकका पूर्वाधार निर्माणका लागि प्रदान गर्नुभएको आर्थिक सहयोगलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खातामार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएकी छु ।’

कालो मोसो लगाएर माझी बस्तीमा घुमाइयोस्

समाजिक सञ्जाल र विभिन्न युट्युब च्यानलहरुमा श्वेता र माझी बस्तीका बारेमा टिकाटिप्पणी जारी रहँदा उनले आफूले माझी बस्ती निर्माणका क्रममा एक पैसा पनि हिनामिना नगरेको र यदी गरेको कसैले प्रमाणित गरेको खण्डमा कालो मासो लगाएर माझी बस्ती घुम्न आफू तयार रहेको चुनौती नै दिएकी छिन् ।

‘पैसा खाएको देखियो भने मलाई कालो मोसो लगाएर माझी बस्तीमा घुमाइयोस्’ एक अन्तर्वार्तामा उनले भनेकी छिन् ।

माझी बस्तीबारे आलोचना र टिप्पणी गर्दा आफूलाई चित्त दुख्ने उनको भनाइ छ ।

‘माझी बस्ती मैले जन्माएको बच्चा जस्तै हो । आमालाई जति चित्तदुख्छ मलाई त्यस्तै भएको छ’ उनले भनिन् ।

उनले बस्ती बनाउने आफ्नो अभियानलाई खलबल पार्न खोजिएको र गलत हो भनेर प्रमाणित गर्न र भ्रम छर्न खोजिएको बताइन् ।

आफू बोलेर नभइ काम गरेर देखाउने व्यक्ति भएको भन्दै उनले त्यसको लागि काम भइरहेको बताएकी छिन् ।

उनले केही सञ्चारमाध्यममा बस्तीका बारेमा कुप्रचार गरिएको भन्दै यो आफूविरुद्ध बोलिएको भन्दा पनि बोल्न लगाइएको दाबी गरिन् ।
अझै सबै घरको सरकारी अनुदान नआइसकेको भन्दै उनले लक्ष्मी बैंकबाट ऋण लिइएको र बस्ती निर्माणका लागि सामान लिइएको स्थानबाट आफूलाई निरन्तर फोन आइरहेको र त्यसको पैसाको व्यवस्थापन आफूले गरिरहेको बताइन् ।

‘लक्ष्मी बैकबाट ऋण लिएर घर बनाएका छौं, सरकारी अनुदान अझै १७/१८ घरको आएको छैन तर घर त बनिसकेको छ भनेपछि ऋण त हामीलाई लागेको छ’ उनले भनिन्,‘ जहाँबाट सामान लगेर बनाइएको छ त्यहाँबाट फोन त मलाई आउँछ, कहिले तिर्ने भनेर मैले अगुवाइमात्र लिएको हो । यो साझा प्रोजेक्ट हो ।’

श्वेताले सुरुमा पैसाको लगानी गरेको र त्यो रकम फिर्ता हुने शर्तमा गरिएको छ तर उनले बस्तीमा आफूले थप कुनै सहयोग र लगानी भने नगरेको आलोचकहरुको भनाइ छ । तर श्वेताले भने आफूले बस्ती घोषणा पछि फिल्म, विज्ञापन लगायतबाट कमाएको धेरै रकम बस्तीमा लगानी गरेको बताइन् । तर आफूले यति नै रकम सहयोग गरें भन्ने जवाफल भने उनीसँग छैन ।

नेपाली तथा विदेशी विभिन्न व्यक्ति र संस्थाबाट उनले बस्ती बनाउनका लागि उठाएको रकमको हिसावकिताव श्वेता श्री फाउन्डेसनको वेवसाइट भने राखिएको छैन ।

आफूहरुले सबैले दिएको रकम फेसबुक पेजबाट शेयर गरेको दाबी श्वेताले गरेकी छिन् तर कतिपयले आफूहरुले पनि बस्ती बनाउनका लागि श्वेतालाई सहयोग गरेको भएपनि फोटो वा नाम कतै उल्लेख गरेको नपाइएको भन्दै कमेन्ट गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्