भागरथी हत्याप्रकरण : पक्राउ परेका किशोर दोषी हुन सक्नेमा परिवारको शंका, शव बुझ्न अस्वीकार

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । बैतडकी बालिका भागरथी भट्टको हत्याप्रकरणमा परिवारले पक्राउ परेका अभियुक्त दोषी हुन नसक्ने आशंका व्यक्त गरेका छन्।

प्रहरीले सार्वजनिक गरेको अभियुक्तप्रति विश्वास गर्नुपर्ने विश्वसनीय प्रमाण प्रस्तुत नगरेको आफन्तले जनाएका छन्।

घटना भएको १३ दिनपछि अभियुक्त सार्वजनिक गरेपनि आफन्तले अझै शव बुझ्न अस्वीकार गरेका हुन।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा भागरथीकी आमाले घटना भएको दिन दिनेश घाम छँदै घर आएको बताएकी छिन्।

भागरथीकी आमाले भनेकी छन्, ‘मैले उसलाई भारगथीलाई देखिस् भनेर पनि सोधेकी थिएँ। तर, उसले देखेन भन्यो। आज उसैले हत्या गर्‍यो भनिरहेका छन्। मैले धकेलेर मारेको हुँ भन्‍यो रे एक्लैले कसरी मार्‍यो? ऊ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ। आन्दोलनमासमेत थियो। धेरैले उसलाई सोधे देखिनँ भन्थ्यो। भागरथी जेठी हो । ऊ भाइ हो।’

अपराधी भनेर प्रहरीले सार्वजनिक गरिएका दिनेशले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग छ।

“दिनेशले हत्या मात्रै गरेको स्वीकारेको छ तर परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ”, भागरथीका काका शिवराज भट्टले भने, “परीक्षण रिपोर्टले बलात्कारपछि हत्या भनेको छ, हत्यारा पत्ता लागेको भए पनि बलात्कारीलाई पनि खोज्नुपर्छ, बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौँ।”

यता भागरथीको शव भेट्टिएको दिनदेखि नै आन्दोलनमा रहेका आन्दोलनकारीले प्रहरीले चित्त बुझ्दो प्रमाणसहित सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन्।

भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक निशा भट्टले दिनेश नै अपराधमा संलग्न थिए भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताए।

यस्तै सङ्घर्ष समितिका सदस्य भोजराज जोशीले हत्यारा पत्ता लागे पनि बलात्कारी पत्ता नलागेको बताए।

उनले भने, “यो घटनामा एउटै व्यक्तिको संलग्नता हुनै सक्दैन, बलात्कारी पनि सार्वजनिक गर्नुपर्छ।”

जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा बैतडीका १६ बर्षीय ती किशोरलाई प्रहरीले घटना भएको १३ दिनपछि पक्राउ गरि आज सार्वजनिक गरेको हो।

गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी स्कुल बिदा भएपछि घर नआएकी र फोन स्वीच अफ भएपछि खोजी गर्ने क्रममा माघ २२ गते दिउँसो सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडक छेउ भन्दा करिब ३० मिटर तल मृत अवस्थामा फेला परेकी थिइन्।

उनको टाउकोमा चोट, घाँटीमा दबाए जस्तो डाम, खुट्टाको औंलामा निल डाम घाउ भएको अवस्थामा उनी मृत फेला परेकी थिइन्।

उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरी स्थानीय दिनेश भट्टलाई पक्राउ गरेको हो।

एउटै स्कुलमा पढ्ने उनी अन्तिम कक्षा नपढी साथीहरुसँग खोचलेकतर्फ गएको, साथीहरुलाई खोचलेक बजारमै छोडी आफू एक्लै खोचलेक बजारबाट चडेपानीस्थित आफ्नो घरतर्फ हिँडेको, हिड्नेक्रममा भागरथीलाई मार्ने उद्देश्यले घटनास्थल माथि रहेको सडकमा कुरी बसेको, भागरथी आई पुगेपछि सडक भन्दा तलतर्फ धकेली दिई हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

उनी उपर जिल्ला अदालत बैतडीबाट ५ दिन म्यद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्