नेपालमा आफ्नो सरकार बनाउने भारतीय गृहमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । सत्ताधारी नेकपाको (प्रचण्ड-नेपाल) पक्षले नेपालमा आफ्नो पार्टीको सरकार बन्ने भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

नेकपाका प्रवक्ता समेत रहेका पूर्व परराष्ट्रमन्त्री नारायणजी श्रेष्ठले गृहमन्त्री शाहको सो कुरा त्रिपुराका मुख्यमन्त्री विप्लव देवले व्यक्त गरेको प्रति भत्सर्ना गरेका छन्।

नेकपाले यस्ता अभिव्यक्तिले दुई देशको सम्बन्धमा नकरात्मक असर गर्ने भएकाले स्थिती स्पष्ट पार्न भारत सरकार र गृहमन्त्री शाहलाई समेत आग्रह गरेको छ।

केही दिन अघि भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले एक सार्वजनिक कार्यक्रममा भारतको सत्ताधारी दल भाजपाका अध्यक्ष एवं गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको संगठन विस्तार गरी सरकार गठन गर्ने अभिव्यक्ति दिएका थिए।

भाजपाको विचारधारात्मक माउ संस्था हिन्दू स्वयंसेवक संघ (आरएसएस)ले नेपालमा अहिले आफ्ना कार्यक्रम तीव्र बनाएको छ।

नेपालमा प्रतिनिधिसभा विघटनपछि केपी शर्मा ओली नेतृत्वमा कामचलाउ सरकार रहेका बेला भारतीय पक्षको यस्तो अभिव्यक्ति आएको हो। तर, धेरैले भारतीय पक्षको यस्तो अभिव्यक्तिलाई ‘हाँस्यास्पद’ भनेका छन्।


प्रतिक्रिया दिनुहोस्