खाली गर्न थालियो काठमाडौंको खुलामञ्च, डोजर लगाएर हटाइयो संरचना

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च खुला गर्न थालेको छ । खुलामञ्चमा १२ वैशाख २०७२ को भूकम्पपछि निर्माण सामग्री थुपारिएको थियो ।

राष्ट्रिय महत्वको संरचना मानिएको दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न भएको र वीर अस्पतालको निर्माण पनि सम्पन्न हुने चरणमा पुगेपछि खुलामञ्चमा थुपारिएका निर्माण सामग्री हटाउन थालिएको हो ।

यस्तै, दरबार हाइस्कुल र वीर अस्पतालको निर्माणका लागि बनाइएका ‘साइट अफिस’हरु पनि हटाउन थालिएको छ ।दरबार हाइस्कुल र वीर अस्पताल निर्माणका लागि अनुमति लिएरै साइट अफिसहरु बनाइएको थियो । तर, केही संरचनाहरु भने अतिक्रमण गरेर बनाइएको पाइएको र ती संरचनाहरु डोजर लगाएर हटाइको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

अब खुलामञ्चलाई पूर्ववतः रुपमा सञ्चालन गर्ने आवश्यक सबै कार्यहरु गरिने काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका अनुसार रत्नपार्कदेखि सैनिक मञ्चसम्म खुलामञ्चको कुल क्षेत्रफल ५८ रोपनी छ । ५८ रोपनीको झण्डै आधा भागमा अस्थायी रुपमा बसपार्क सञ्चालन गरिएको छ । पुरानो बसपार्कमा विजेश टावर निर्माण गर्न थालिएपछि बसपार्कलाई खुलामञ्चमा सारिएको थियो ।

पुरानो बसपार्कमा निर्माण भइरहेको बिजनेश टावरको काम सकिन अझै समय लाग्ने भएकाले खुलामञ्चबाट बसपार्क भने तत्कालै हट्ने सम्भावना छैन ।

यद्यपि पछिल्लो समय बढेका राजनीतिक गतिविधिसँगै सभा आयोजना गर्ने स्थानको अभाव भएकाले छिटोभन्दा छिटो खुलामञ्च खाली गरिने काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।


प्रतिक्रिया दिनुहोस्