न्यायाधीशकैसामु इजलासका कर्मचारीबीच कुटाकुट, एक जना घाइते

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । काठमाडौं जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच आदेशलाई लिएर हात हालाहाल भएको छ ।

न्यायाधीशकै सामुन्ने भएको हात हालाहालमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका छन् ।

सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कुटाकुटमा उत्रिएका हुन् ।

श्रेस्तेदार भीमप्रसाद निरौलाका अनुसार इजलास अधिकृत शर्मा घाइते भएका छन्।

आक्रमणपछि एक कर्मचारीको नाकबाट रगत बगेको छ। सुब्बाले छानबिन गरिपाउँ भनेर निवेदन दिएका छन् । अनुसन्धान अनुसार दोषीलाई कारबाही हुने श्रेष्तेदार निरौलाले बताए ।

इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुई जनाबीच झगडा भएको हो।

मालपोत कार्यालयलाई भएको एउटा आदेशमा सही गर्ने कुरालाई लिएर विवाद भएको थियो ।
‘आदेशमा सही गराउन लिएर जादाँ इजलास अधिकृत शर्माले व्यहोरा नमिलेको भन्दै अर्को व्यहोरा लेखेर ल्याउन भनेपछि वादविवाद भएको रहेछ। त्यही बढ्दै गएर हात हालाहाल नै भएछ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्