कोरोना प्रभावित जलविद्युत् आयोजनाहरूलाई सरकारी राहत दिने

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ८ : ३६


काठमाडौं । सरकारले कोरोना प्रभावित जलविद्युत् आयोजनाहरूलाई विभिन्न राहत दिने भएको छ । सरकारले आयोजनाको सर्वेक्षण अवधि, विद्युत खरीद विक्री सम्झौता, वित्तीय व्यवस्थापनलगायत विषयमा विभिन्न राहत दिने गरी निर्णय गरेको हो ।

कोरोना महामारीका कारण समस्यामा परेका जलविद्युत् आयोजनालाई राहत दिने विषयमा अध्ययन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् विकास सहायता तथा प्रादेशिक महाशाखा प्रमुख मधुप्रसाद भेटवालको सयोजकत्वमा एक समिति बनेको थियो ।

सोही समितिको कात्तिक २७ गते बुझाएको प्रतिवेदनका आधारमा ऊर्जा मन्त्रालयले गत हप्ता कोरोना प्रभावित जलविद्युत् आयोेजनाहरूलाई राहत दिने निर्णय गरेको खबर आर्थिक अभियान दैनिकमा छ ।

सहसचिव भेटवालले मन्त्रीस्तरबाट नै कोरोना प्रभावित आयोजनाहरूलाई राहत दिने निर्णय भएको बताए ।


प्रतिक्रिया दिनुहोस्