काभ्रे । ‘दलित’ भन्दै जातीय छुवाछुत गरेको मुद्दामा दोषी ठहर भएका ३ जना फरार अभियुक्तहरुलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।
जातीय छुवाछुत तथा भेदभाव मुद्दाका ३ जना फरार प्रतिवादीहरुलाई आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले पाँचखाल नगरपालिका-६ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका-६ बस्ने ३७ वर्षीय रामचन्द्र श्रेष्ठ, २५ वर्षीय नविन श्रेष्ठ र ३० वर्षीय दिपक श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकाहरुले पाँचखाल नगरपालिका-६ स्थित यात्रु प्रतिक्षालयमा २०७४ माघ १ गते पीडितलाई ‘दलित’ भन्दै अपशब्द तथा गालीगलौज गरी जुत्ताको माला लगाई गाउँ निकाला गर्न खोजेका थिए । उक्त घटनासम्बन्धी मुद्दामा उच्च अदालत पाटनको २०७६ असार १६ गते ३ जनाविरुद्ध जनही ४ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र पीडितलाई जनही २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी भएको फैसला सुनाएको थियो ।
अदालतको फैसला पछि फरार रहेका उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत धुलिखेलको आदेशले बाँकी कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।