नेपालबाट रुसमा चरेस तस्करी गर्ने व्यक्ति पक्राउ

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ३ : ०२


काठमाडौं । नेपालबाट लागू औषध (चरेस) तस्करी गरेर रुस पठाउने नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको बेसीशहर नगरपालिका–१० ठेगाना भएका ५२ वर्षीय टेकबहादुर राउत छन् । प्रहरीले उनलाई ललितपुर महानगरपालिका–३ पुल्चोकबाट शुक्रबार बिहान पक्राउ गरेको हो ।

नेपालबाट कीर्ति क्राफ्ट लिमिटेड काठमाडौंका नाममा रसियाको मस्कोस्थित गोर्बाचेभा इरिना निकोलियभ्‌ना ८९ नाममा पठाइएको मेटालिक क्यानिस्टर्स भित्रबाट चरेस बरामद भएको थियो ।

उक्त प्रकरणमा रसियाको प्रहरीले अवैध रुपमा लागू औषध तस्करी गरेको मुद्दामा अनुसन्धान गर्दा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि नेपाल प्रहरीको लागू औषध नियन्त्र ब्यूरो कोटेश्वरमा पत्र प्राप्त भएको थियो ।

सोही पत्रका आधारमा अनुसन्धान गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न राउतलाई ललितपुर, ललितपुर महानगरपालिका-३ पुलचोकमा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका राउतउपर लागूऔषध चरेश कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको व्यूरोले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्