ट्याङ्करमै लोड गरेर नेपालबाट भारतर्फ डिजेल तस्करी, वीरजन्जबाट ३ जना पक्राउ

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : ५६


वीरगन्ज । ट्याङ्करमा भरेर नेपालबाट भारततर्फ तेल (डिजेल) तस्करी गर्ने ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

ना ७ ख १५११ नम्बरको ट्याङ्करको च्याम्बरमा १ हजार लिटर र ट्याङ्करको फ्युल ट्याङ्कीमा ३ सय ६० लिटर गरी १ हजार ३ सय ६० लिटर डिजेल भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्याङ्ककर चालक मकवानपुरको मनहरी गाउँपालिका-३ घर भएका ३३ वर्षीय रामकृष्ण उप्रेती, ट्याङ्करका सहचालक मकवानपुरको राकसीराग गाउँपालिका-३ घर भएका १ वर्षीय अशोक पाख्रिन र पर्साको वीरगञ्जस्थित स्वेता आयल ट्रेडर्समा मुन्सीको रुपमा काम गर्ने पर्साको वीरगन्ज नै घर भएका ३४ वर्षीय शम्भु महतो छन् ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्स (पेट्रोल पम्प)बाट डिजेल भरेर उनीहरुले भारततर्फ तस्करी गर्न लागेका थिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकीको मूल गेटबाट पक्राउ गरेको हो ।

प्रहरीले भारततर्फ तेल तस्करी गर्न प्रयोग गरिएको ट्याङ्करसहित तीनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्