नेपालमा पनि भाजपा विस्तार गर्ने भारतीय योजना !

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । भारतको त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देवले भारतीय जनता पार्टी (भाजपा)ले नेपाल र श्रीलंकामा पार्टी विस्तार गरी सरकार गठन गर्ने योजनामा रहेको खुलासा गरेका छन् ।

मुख्यमन्त्री देवका अनुसार भाजपाका पूर्व अध्यक्ष तथा वर्तमान गृहमन्त्री अमित शाहले शनिबार रविन्द्र शतवार्षिकी भवनमा आयोजित पार्टीको कार्यक्रममा छिमेकी देशहरु नेपाल र श्रीलंकामा भाजपा सरकार स्थापित गर्ने योजना बनाएको बताएका हुन् ।

भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार भारतकै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव कुमार देवले आफ्नो देशका केन्द्रीय गृहमन्त्री शाहले नेपाल र श्रीलंकामा पनि बीजेपीको सरकार बनाउन चाहेको दाबी गरेका हुन् ।

समाचारअनुसार शाहले त्रिपुरा यात्राका क्रममा राज्यका नेतृत्वहरुसँगको चियापान कार्यक्रमका क्रममा भारतका अधिकांश राज्यमा जित हासिल गरेपछि अब छिमेकी देशहरुमा पनि पाटी स्थापना गर्ने योजनामा रहेको बताएको दावी मुख्यमन्त्री देवले गरेका छन् ।

‘हामी राज्यको पाहुनाघरमा कुराकानी गरिरहेका थियौं । जव भाजपाका उत्तर पूर्व जोनल सचिव अजय जाम्बालले भारतका लगभग सबै राज्यमा भाजपाको सरकार बनेको कुरा गरे, जवाफमा शाहले भने, अब श्रीलंका र नेपाल बाँकी छ । हामीले श्रीलंका र नेपालमा पार्टीको विस्तार गर्नुपर्छ र सरकार बनाउनका लागि त्यहाँ जित हासिल गर्नुपर्छ,’ अमित शाहको भनाई उदृत गरी देवले भने ।

विपक्षी दल सीपीएम र कांग्रेसले भने विप्लवको भनाइ अलोकतान्त्रिक रहेको ठहर गर्दै यस विषयमा तुरुन्त छानबिन गर्न माग गरेको छ ।

भारतका विपक्षी दल कांग्रेस र सीपीएमले त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवले नेपाल र श्रीलंकाजस्ता सार्वभौम मुलुकविरुद्ध अत्यन्त अलोकतान्त्रिक बयान दिएको बताएका छन् ।

गृहमन्त्री शाहले ती देशको सत्ता कब्जा गर्ने दाबी गरेकै हुन् भने त्यसको गम्भीर अनुसन्धान गर्न पनि उनीहरूले माग गरेका छन् ।

त्रिपुराका विपक्षी नेताहरुले मुख्यमन्त्रीको विवादास्पद अभिव्यक्तिको बारेमा भाजपाको केन्द्रीय नेतृत्वसँग जवाफ माग गरेको छ ।

भारतीय कम्युनिस्ट पाटी (माक्सबादी)का नेता तथा पूर्व मुख्यमन्त्री जितेन्द्र चौधरीले भने, ‘मुख्यमन्त्रीलाई संविधान र लोकतन्त्रबारे कुनै ज्ञान छैन ।

मुख्यमन्त्रीको दावी अनुसार यदि अमित शाहले भनेकै हुन् भने पनि हामीलाई अर्को देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अधिकार छैन ।’

भारतीय कम्युनिस्ट पार्टीका नेताले गृहमन्त्री अमित शाह ‘नेपालको बिरुद्धमा राज्यको षड्यन्त्र’मा लागेको आरोप समेत लगाए ।

उनले मुख्यमन्त्रीको भनाइलाई सामान्य रुपमा नलिइ प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका शीर्ष नेतासँग जवाफ र प्रतिक्रियाको माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्