प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १५ हजार बढीलाई रोजगारी

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १५ हजार भन्दा बढी ब्यक्तिहरु रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत फागुन २ गतेसम्म ७ लाख ४३ हजार १ सय ६४ जना बेरोजगारको विवरण आएकोमध्ये १५ हजार ६ सय ७० जना ब्यक्तिहरु कामको लागि पारिश्रमिक तर्फ रोजगारीमा खटिएको बताएका हुन।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कार्यरत २ लाख जना श्रमिकहरुको सामुहिक दुर्घटना विमा गरिएको पनि जानकारी दिए।

मन्त्री चौधरीले सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड संकलन भएको बताए।

उनले हालसम्म ९ वटा देशहरुसँग द्धिपक्षिय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको र ५ वटा देशहरुसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडी बढाईएको पनि बताए।

कोभिड १९ को कारणले विदेशमा रोजगारी गुमाई अलपत्र परेका १ सय ८७ जना कामदारलाई उद्दार गरिसकिएको र थप ३ महिलासहित ३९ जनाको उद्दारका लागि विभिन्न दुतावासहरुमा पत्राचार गरिएको उहाँले जानकारी दिए।

मन्त्री चौधरीले विभिन्न ऐन, नियम, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरु संशोधन तथा जारी भएको पनि जानकारी दिए।

वैदेशिक रोजगार बोर्डबाट बैदेशिक रोजगारीमा मृत्यु भएका ६ सय ८८ जना मृतकका परिवारलाई ४८ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइएको, अंगभंग भएका ६० जना कामदारलाई २ करोड ७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको, ४२५ जना कामदारको शव घर ठेगानामा पु¥याइएको र १७३ जनाको शव सम्बन्धित देशमा नै अन्त्येष्टि गरिएको उनको भनाई छ।

उनले सामाजिक सुरक्षा योजना संशोधन कार्यविधि २०७५ मा दोस्रो संशोधन भएको समेत जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्