बिरोधकाबीच पशुपतिमा जलहरी राख्न पगालियो ६४ किलो सुन

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : ५२


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने काम अघि बढाएको छ । जलहरीका लागि चाहिने १ सय ८ किलो सुनमध्ये ६४ किलो खरिद गरेर पगाल्न थालिएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालका अनुसार बाँकी सुन अर्को हप्तासम्म आइपुग्छ ।

कोषले १ सय ४२ किलो सुन किनेर जलहरीसहित मन्दिरको बसाह र छानो राख्ने योजना बनाएको हो । त्यसमध्ये जलहरीका लागि मात्र १ सय ८ किलो सुन खर्च गर्न लागिएको हो  ।

जलहरी निर्माणका लागि १० जना कालिगढ खटाइएको उनले जानकारी दिए। आउँदो शिवरात्रीसम्म जलहरी राखिसक्ने योजना कोषको रहेको उनले बताए ।

पशुपति मन्दिरको उत्तरतिरको रुद्र गाडेश्वरमा जलहरी बनाउन टहरा बनाइएको छ । त्यही टहरामा लकर बनाएर राखिएको सुनलाई नेपाली सेनाले सुरक्षा दिएको छ ।

गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथमा पूजा गर्न गएपछि सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने भएपछि कोषले प्रक्रिया अघि बढाएको हो ।

तर, जलहरी फेर्ने काम विवादमा परेको छ। चाँदीको स्थानको सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत हुने भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् ।

पशुपतिनाथको शिवलिंगको पिँधमा रहेको चाँदीको जलहरी जीर्ण भएपछि त्यसलाई सुन लगाएर फेर्ने योजना कोषले २०७० सालमै ल्याएको थियो तर सरोकारवालाको विरोधले अघि बढ्न सकेको थिएन ।

अहिले सुन पगाल्न थालिएको छ तर यसको बिरोध जारी छ ।

सुनको जलहरी राख्ने कामको विरोध गर्दै आएका पशुपतिका भण्डारीले काम अघि नबढाउन आग्रह गरेका छन् ।

सुन ल्याएर शुक्रबार बिहानैदेखि पगाल्न सुरु गरिएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संस्कृति सचिव यादव कोइराला, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमलगायत पशुपति पुगेका थिए ।

पशुपतिका पालोवाला भण्डारी केदार भण्डारीले यहाँको पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वको वास्तै नगरी हचुवामा काम गरेको भन्दै आपत्ति जनाए का थिए ।


प्रतिक्रिया दिनुहोस्