पशुपतिनाथबारे हाम्रा नेताको भनाइ तोडमोड गरियो: नारायणकाजी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : ०९


काठमाडौं । प्रचण्ड-माधव पक्षको नेकपाले पशुपतिनाथ र हिन्दू धर्मका विषयमा आफ्ना नेताहरुको भनाइलाई बंग्याइएको भन्दै आपत्ति जनाएको छ ।

प्रचण्ड माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतवार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पशुपतिनाथ र जनताको धार्मिक आस्थाप्रति सम्मान रहेको बताए ।

पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेव र आस्थाको केन्द्र भएको र त्यसलाई आफूहरुले सम्मान गर्ने उनले बताए ।

श्रेष्ठले भने, ‘पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेव र आस्थाको केन्द्र हो । त्यसको हामी सम्मान गर्छौं र जनताको धार्मिक अस्थाको पनि सम्मान गर्छौं । हाम्रा नेताहरूको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथजस्तो धार्मिक संस्थालाई संकीर्ण राजनीतिक स्वार्थका लागि उपयोग नगर्न र तुच्छ स्वार्थका लागि दुरुपयोग नगर्न अनुरोध छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पशुपतिनाथमा पुगेर पूजा अर्चना गरी सुनको जलहरी लगाउने घोषणा गरेपछि प्रचण्ड-माधव पक्षका नेतहरुले त्यसको बिरोध गरेका थिए ।

ओलीले हिन्दूत्वको नारा उठाउन खोजेको उनीहरुको आरोप थियो । माघ २८ गतेको काठमाडौंका आमसभामा अधिकांश वक्ताले ओलीको पशुपतिनाथ भ्रमणबारे कडा टिप्पणी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्