गाउँघरको भ्यालेन्टाइन् डे!

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


हिजो साँझ मनजिते र सुकुमायाँको ठुलो झगडा पर्‍यो।

मुखामुख हुदाहुँदै थप्पडै हान्न पुगेको थियो मनजिते।

सुकुमायाँ रोईकराई भुन्भुनाउँदै आफ्नो लुगा पोको पार्न थाली। तँ असत्तिको मुख हेर्न फर्केर आँउदिन, माईत गएर आनन्दै बस्छु भन्दै बाटो लागि।

मनजिते भने चुप लागेर बिछ्यौनामा पसेको थियो।

बिहान भयो। घाँसपात सकाई वरी मनजिते जुवा काँधमा हालेर मेलो तिर भोकै लाग्यो।

मनजिते हलो जोत्दै थियो। सुकुमाँया साँच्चै मलाई छोडेर गै त माईत। रातिबाटै उसको मन भित्र दौडिरहेको यो प्रश्न हलगोरु लम्के भन्दा छिटो छिटो लम्कन थालिसकेको थियो।

हातै चाहीँ हाल्न नहुने मैले। मनजितेलाई खुब पछुतो लाग्छ। बिचरी कति चित्त दुखाई होलि। मन गह्रौं भो मनजितेको।

तर पर कटेरोबाट रातभरी बुडो खोज्दै आउलान कि भन्ने आसमै रात काटेकि सुकुमायाँ भने मनजिते मेलो तिर लागेको देखेपछि हत्त पत्त दगुर्दै घर गई।

जाँतोमा हिजै पिस्छु भनेको कोदो पिसी। थोरै फापरको पिठो मिसाएर दुई वटा रोटी हालि। बुडोलाई मनपर्ने गोलभेंडाको अचार पनि पिसी।

त्यसपछि टाउकोको मजेत्रो फुकालेर रोटी अचार पोको पारी एक जग महि बोकेर हातार लागि मेलो तिर।

मेलो पुगेर छेवैको चिउरीको बोट मुनि बसि। बुडोलाई के भनु, कसरी बोलाऊ भयो सुकुमायाँलाई।

तर मुख आफै बोलि हाल्यो। खाजा खान आउनुस्।

माइत गएको ठानेकी बुडीको आवाज सुनेपछि मनजिते भयो फुरुङ्ग। दगुर्दै खुशीले प्याट् प्याट् हातको धुलो टकटकाउँदै सुकुमायाँ नजिकै आएर बस्यो।

पोका फुकाएर एउटा रोटि हातैमा लियो। ल तँ पनि खा भन्दै मजेत्रो सुकुमायाँ तिर सारिदियो।

आफूले खाईसक्दा पनि नखाएको देखेर मनजिते जुंगा हल्लाउदै सानुमायाँलाई जिस्काउदै बोल्यो।

एई माईतको मेजमानले टम्म छेस् कसो? रोटीले सिङ ठाडो पार्न थलिसक्यो खान्नस् के?

सुकुमायाँ झसंग भई। रिसाएको जस्ती गरेकी उनको घुर्की एकैचोटी भुइँमा पछारियो। लाज गाला भरि रातै भरिए।

मनजिते सानुमायाँ तिरै एकोहोरी रह्यो।

यो निशब्द माँया कसैले देखेन। कसैले सुनेन। फिरफिरे झैं माथि–माथि उड्दै आकाशमा भरिन थाल्यो।

(आज यो विशेष दिन यस्तै माथि हिमालको चिसोमा रमाई रहेका पहाडका कुना काप्चामा हराई रहेका तराईका गर्मीमा नाचिरहेका तिनै प्रेमिल मायाँलु जोडीहरु प्रति समर्पण गर्छु। जसले कहिल्यै गुलाबको फूल साटेनन्। एक अर्कालाई कहिल्यै मायाँ गर्छु भनेनन्। जसले मायाँको परिभषा नबुझेरै मायाँलाई स्वच्छ र जीवन्त राखिरहे।)

मनसुन राई, अस्ट्रेलिया


प्रतिक्रिया दिनुहोस्