काठमाडौं । कोरोना भाइरस (कोभिड १९)का कारण एक वर्षदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको नेपाल–चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात–निर्यात पुन: प्रभावित भएको छ ।
चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि रसुवागढी नाकाबाट हुने गरेको आयात निर्यात प्रभावित भएको हो ।
विगत १ वर्षदेखि सीमित मात्रामा मात्रै आयात–निर्यात भइरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । हाल दैनिक करिब ५ कन्टेनरका दरले भइरहेको आयात पनि चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गए पछि बन्द भएको रेग्मीले बताए ।
चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जानकारी प्राप्त भएको भन्सार कार्यालय प्रमुख रेग्मीले जानकारी दिए ।
ल्होसार मनाउन चिनियाँहरु आफ्नै घर फर्केका र उनीहरु आउन १० दिनजति समय लाग्ने जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको उनले बताए ।
कोरोनाका कारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।
दैनिका पाँच वटा चिनियाँ कन्टेनरले नेपालतर्फ यार्डमा सामान ल्याईदिनेगरी नाका खुलेको थियो ।