‘सपना छोरी जस्तै हो’ भन्ने बस्नेतले नाङ्गा फोटा देखाइदिन्छु भन्दै धम्की दिए, प्रहरीमा जाहेरी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १२ : ३०


काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् ।

मगर र बस्नेतले बेबारिसे शवलाई जलाउने गर्दै आएका थिए ।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

‘जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी लिन टोली अदालत गएको छ,’ एसएसपी सिंहले भने,’पुर्जी आएपछि उनलाई पक्राउ गर्छौं।’

सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए । उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्रहरीले उनको खोजी गरिरहेको छ .

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए । उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए ।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । केही समययता बस्नेत र सपनाबीच तिक्तता बढेको थियो । त्यसपछि विभिन्न यूट्युब च्यानलहरुमा अन्तर्वार्ता दिँदै उनले सपनाका तस्वीरहरु सार्वजनिक गरिदिने चेतावनी दिएका थिए ।

म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडौं आएकी थिइन् । यहाँ आएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश जलाउने गरेको देखेपछि उनले पनि यही काम थालेकी थिइन् ।

काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी थिईन । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् । कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेकासय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको थियो ।

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताउँदै आएकी थिइन् । म्याग्दीकी १८ वर्षीया सपना दैनिकजसो काठमाडौंको पशुपति आर्यघाट आसपासमा हुन्छिन् । उनले काठमाडौंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शवको आफन्त बनेर दागबत्ती दिँदै आएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्