काठमाडौं । नेपालबारे भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले फेरि विवादास्पद अभिव्यक्ति दिएका छन्।
नेपालले भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि नरवाणेले नेपाल चीनको इशारामा नाचेको विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसपछि उनको चौतर्फी विरोध भएको थियो।
फेरि उनै सेना प्रमुख नरवाणेले नेपालमा चीनको धेरै लगानी भएको मुलुक भनेर टिप्पणी गरेका छन्।
राजधानी दिल्लीमा आयेजित एक सेमिनारमा उनले राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भारतको परम्परागत मित्र राष्ट्र नेपालमा चीनको ठुलो लगानी भएको बताएका हुन।
भारतीय पत्रिका हिन्दुका अनुसार सेनाअध्यक्ष नरवाणेले नेपाल लगायतका भारतका छिमेकी देशहरुमा चीनले प्रभाव बढाउंदै लगेको र सीमा क्षेत्रमा समेत यथास्थितीलाई बदल्न खोजेको प्रयासले द्धन्द्ध निम्तेको दाबी गरेका छन्।
उनले यसबाट भारतको उत्तर(पश्चित क्षेत्रको सुरक्षा लाई प्रत्यक्ष असर गर्न सक्ने चेतावनी समेत दिएका छन्।
बेल्ट एण्ड रोड इनिसियटिभमार्फत चीनले क्षेत्रीय निर्भरता बढाउंदै लगेको र इन्डोप्यासेफिकमा चीन आक्रमक ढंगले आएको उनको भनाई छ। सेनाअध्यक्ष नरवाणेले अमेरिकाको इन्डोप्यासेफिकमा सक्रियता बढेपछि चीनले यस क्षेत्रका साना मुलुकहरुप्रति असहिष्णु व्यवहार देखाएको भन्दै अमेरिका र चीनको बढ्दो द्धन्द्धले क्षेत्रीय असन्तुलन र अस्थीरता बढाउंदै लगेको धारणा सेमिनारमा राखेका छन्।