सरकारले सुरक्षाकर्मी कटौती गर्न थालेपछि पूर्वराजाले पठाए पत्र

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । सरकारले पछिल्लो समय भिआइपीहरुको सुरक्षाकर्मीको संख्यामा कटौती गर्ने गरि कार्यविधि बनाएको छ।

मन्त्रिपरिषद्ले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको हो।

नयाँ कार्यविधि अनुसार अब पूर्व राष्ट्रपतिले अब २१, पूर्व प्रधानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।

नयाँ कार्यविधि बनाएपछि पूर्व राजा, पूर्व प्रधानमन्त्री लगायतले कार्यविधि विपरीत राख्दै आएका सुरक्षाकर्मी फिर्ता ल्याउन सुरु गरिएको छ।

पूर्व विशिष्टको सुरक्षाका लागि गृहले नयाँ मापदण्ड बनाएर कार्यविधि विपरीत सुरक्षाका बहानामा बढी सुरक्षाकर्मी राखिएको पाइएपछि सरकारले त्यसरी राखिएका सुरक्षाकर्मीलाई फिर्ता ल्याउन कदम चालेको हो।

सरकारले नयाँ कार्यविधि स्वीकृत गरेसँगै सो विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन गरिएको छ।

यसैबीच, पूर्वराजा ज्ञानेन्द्र  शाहले सुरक्षाकर्मी कटौती गर्ने निर्णय पुर्नविचार गरिदिन पत्राचार गरेका छन्।

हाल पूर्व राजपरिवारको सुरक्षामा ९९ जना सुरक्षाकर्मी खटिदै आएका छन्।

जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी हाल सुरक्षाका लागि खटिँदै आइरहेका छन्। नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार भने पूर्वराजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट स्वकीय सचिव सागरप्रसाद तिम्सिनाले तोकिएको नयाँ कार्यविधि अनुसार सबै राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि पर्याप्त नहुने भन्दै पुर्नविचार गरिदिन गृह मन्त्रालयमा पत्र पठाएका हुन।


प्रतिक्रिया दिनुहोस्