पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, सशस्त्रका २ जना सुरक्षाकर्मी घाइते

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


वीरगन्ज । सशस्त्र प्रहरी बल र नेपाली भूमिमा आएर अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करबीच पर्सामा झडप भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत पर्ने ओरिया खोलामा भारतीय पक्षले विगतदेखि नै एकतर्फी रुपमा बालुवा उत्खनन् गरिरहेको थियो ।

भारतीय सुरक्षाकर्मीको ‘सहयोग’मा नेपाली भूमिमा आएर बालुवा उत्खनन् गरिरहेका तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा झडप भएको हो । झडपका क्रममा सशस्त्र प्रहरीतर्फ २ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

घाइते हुने सुरक्षाकर्मीमा २५ वर्षीय नरेश यादव र २४ वर्षीय आयुष राय यादव छन् । घायते दुवै जना सुरक्षाकर्मीको पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घाइते भएका सुरक्षाकर्मीमध्ये आयुषको देव्रे कानमा चोट लागेको जनाइएको छ । नारायणी अस्पतालको आकस्मिक विभागका प्रमुख डाक्टर उयदनारायण सिंहका अनुसार आयुषको कानामा १८ वटा टाँका लगायएको छ ।

यस्तै, अर्का सुरक्षाकर्मी नरेश यादवको देब्रे हात भाँचिएको र खुट्टामा चोट लागेको डाक्बर सिंहले जानकारी दिए । उपचाररत दुवैजना अहिले खतरामुक्त रहेका डाक्टर सिंहको भनाइ छ ।

ओरिया खोलामा बालुवा उत्खनन् गरेर लैजान लागिएको अवस्थामा सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएपछि भारतीय गाउँ गदियानीबाट स्थानीय बासिन्दा खोलामा आएर नेपाली सुरक्षाकर्मीमाथि लाठी, भाटा, बेल्चा तथा ढुङ्गा प्रहार गरेका थिए ।

भारतका स्थानीयले सशस्त्र प्रहरीमाथि ढुङ्गा मुढा गरेपछि बालुवा तस्करहरु बालुवा लोड गरिएको ट्याक्टर छुटाएर लैजान सफल भएका जनाइएको छ ।

ओरिया खोलामा विगत केही वर्षदेखि भारतीय तस्करहरु अवैध रुपमा बालुवा उत्खनन् गरी भारततर्फ लैजाने गरेका छन् ।

नेपाली पक्षले बालुवा तस्करी रोक्न खोज्दा उनीहरुले नेपाली सुरक्षाकर्मी माथि नै आक्रमण गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्