४ प्रश्नको लिखित जवाफ दिएपछि छुटिन् नेत्री झाँक्री

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ।

राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो सदैव सम्मान रहेको लिखित प्रतिबद्धता जनाएपछि उनलाई छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

उक्त कसुर गरेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले झाँक्रीलाई काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलस्थित निवासबाट पक्राउ गरेको थियो।

यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध ‘अशोभनीय’ टिप्पणी गरेपछि उनको आलोचना हुँदै आएको थियो।

सत्तारुढ नेकपानिकट अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो।

सोही निवेदनको आधारमा प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता कुँवरले बताए।

रिहापछि झाँक्रीले प्रतिक्रिया दिँदै राष्ट्रपति संस्थाप्रति आफ्नै सधैँ सम्मान रहेको बताए।

४ प्रश्नको जवाफ दिएर छुटिन् नेतृ झाँक्री, यी थिए प्रहरी हिरासतमा सोधिएका प्रश्न

गोरखाको सिरानचोकमा तपाईंले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिनु भएको हो?

मैले बोलेको हो। संविधानको धारा १७ ले नागिरकलाई स्वतन्त्रताको हक प्रदान गरेको छ। त्यसैअनुसार नागिरक र राजनीतिकर्मी भएको कारणले मैले सो कुरा बोलेको हुँ।

राष्ट्रपतिप्रति तपाईंको आस्था, विश्वास र धारणा के हो?

संवैधानिक राष्ट्रपतिप्रति विगत, वर्तमान र भविष्यमा पनि मेरो अटल आस्था र विश्वास रहने छ।

गोर्खाको सिरानचोकमा राजनीतिक कार्यक्रम थियो कि अन्य केही थियो?

राजनीतिक कार्यक्रम थियो र त्यहीँ राष्ट्रपतिको बारेमा बोलेको हुँ।

अन्य भन्नु केही छ ?

हामी स्वतन्त्रताका लागि लड्दै आएका हौँ र त्यसका लागि लडिरहने छौँ।

झाँक्रीलाई गृह मन्त्रालयको निर्देशनपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। झाँक्रीविरुद्ध कुनै उजुरी नआएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्