मुटुरोग विशेषज्ञको चेतावनी- खाने तेललाई धेरै तताउने त गर्नुभएको छैन ?

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


हामी नेपालीको बानी नै हो कि भान्सामा प्रयोग हुने कुरालाई हामीले सकेसम्म बचाएर प्रयोग गर्छौं । केही त्यस्ता चिज पनि हुन्छन् जसको पुन: प्रयोग पनि गर्ने गरिन्छ । जस्तै कि खाने तेलको कुरा भयो ।

घरमा पापड तारेको, सेल या पुरी तारेको तेल हामी तरकारी भुट्न र दाल झान्न प्रयोग गरिरहेका हुन्छौं । आर्थिक रुपले यस्तो गर्नु हामी फाइदा मानिरहेका हुन्छौं । तर, स्वास्थ्यका दृष्टिकोणले भने यो एकदमै हानिकारक मानिन्छ ।

मुटुरोग विशेषज्ञका अनुसार एकपटक प्रयोग गरिएको खाने तेल पुन: प्रयोग गर्दा यसले मुटु तथा कलेजोको रोग निम्त्याउनुका साथै क्यान्सर समेत हुने खतरा हुन्छ । एकपटक तताएर सेलाएको तेल पटक पटक पुन: तताएर प्रयोग गर्नु पनि स्वास्थ्यका लागि राम्रो हुँदैन ।

रिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल एकपटक प्रयोगमा आएको तेल पुनः प्रयोग गर्दा मानिसमा मुटु, स्नायु, कलेजो सम्बन्धि रोग लाग्न सक्ने र क्यान्सर समेत हुने खतरा रहेको बताउँछन् ।

तेललाई पटक–पटक तताउँदा अल्डिहाइड नामक टक्सिन उत्पादन हुन्छ । पुनः तताएको तेल प्रयोग गर्दा यसमा उत्पादन भएको टोक्सिन शरीर भित्र प्रवेश गर्छ । जसले हाम्रो शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसँग प्रक्रिया गरी स्वास्थ्यलाई असर पुर्‍याउँछ ।

सूर्यमुखी तथा भटमासको तेललाई पटक–पटक तताउँदा राम्रो फ्याटहरु ट्रान्सफ्याटमा परिणत हुन्छ । जसले शरीरमा नराम्रो कोलेस्ट्रोल बढाउँछ । यसले रक्तनलीमा रगत जम्ने सम्भावना बढाउँछ ।

तेललाई पटक–पटक तताउँदा त्यसमा उत्पादन हुने टोक्सिनले मुटुरोग, स्नायुरोग, कलेजो रोग तथा क्यान्सर हुने खतरा बढ्छ ।

त्यसले यी रोगहरु लाग्नबाट बच्नको लागि तेल पुनः तताएर प्रयोग गर्ने बानी हटाउनुपर्छ ।

मुटु, कलेजो स्नायु र क्यान्सरका बिरामीले भुलेर पनि यस्तो तेल प्रयोग गर्ने नहुने डा. अनिलको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्