दिल्लीमा दुतावास नजिकै भएको विस्फोट ‘आतंकवादी हमला’ : इजरायल

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १० : १८


काठमाडौ । भारतको राजधानी नयाँ दिल्ली स्थित आफ्नो दूतावास नजिकै भएको बम विस्फोटलाई इजरायलले ‘आतंकवादी हमला’ भनेको छ।

विस्फोटपछि भारतीय विदेशमन्त्रीले इजलायली विदेशमन्त्रीसँग फोनमा वार्ता समेत गरेका छन्। घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन।

भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्ना इजरायली सकमक्षीलाई भारत सुरक्षाका लागि तयार रहेको बताउँदै दोषीमाथि कारबाही गरिने बताएका छन्।

शुक्रबार साँझ दिल्लीस्थित इजरायली दूतावासनजिक विस्फोट भएको हो।

विस्फोटमा कोही घाइते भएको सूचना छैन तर चार/पाँचवटा गाडीमा क्षति पुगेको छ।

विस्फोट हुनासाथ बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो।

भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज (शुक्रबार) २९ वर्ष पुगेको छ। यस अवसरमा इजरायली दूतावासले सामाजिक सञ्जालमा एउटा भिडिओ पोस्ट गरेको छ।

आजकै दिन सन् १९९२ मा दुई देशबीच कूटनीतिक सम्बन्ध सुरुवात गरिएको थियो।

इजरायली दूतावासले बिहान प्रधानमन्त्री नेतान्याहु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटको भिडियो ट्विटरमा सेयर गरेको थियो।


प्रतिक्रिया दिनुहोस्