रामकोटमा कटुवाल परम्परा कायमै

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : ५७


बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा घोक हाल्ने (कटुवाल) पराम्परा अझै पनि कायमै छ । लामो समय घोक हाल्दै आएका एक व्यक्तिको निधनपश्चात् नरसिं थापामगरले तीन वर्षदेखि गाउँमा कटुवाल लगाउँदै आएका छन।

सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिँदै आएको स्थानीयवासी एकबहादुर थापामगरले जानकारी दिए।

बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई हटाउन नसकिएको उनी बताउँछन। गाउँ समाजमा हुने बैठक, पूजाआजा, झैझगडा, वडाबाट प्रदान गरिने सूचनाका बारेमा घोक हालेर जानकारी दिँदै आएका छन् ।

वर्षमा प्रत्येक घरधुरीले एक पाथी अन्न, दशैँमा एक माना चामल र मासु दिने व्यवस्था रहेको रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आले बताए।

मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी छन् ।

ऐतिहासिक रामकोट

रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिकस्थलका रुपमा परिचित छ । सुविधा खोज्ने नाउँमा बसाइँसराइको क्रम बढ्न थालेपछि त्यसलाई रोक्न गाउँपालिकाले पहलकदमी गरिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।

गत वर्ष उक्त स्थानमा होमस्टे (घरबास) सञ्चालनमा ल्याइएको छ। गाउँका ३० महिला मिलेर होमस्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि हुँदै गएको छ।

गत वर्ष नै होमस्टेका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट रु १० लाख विनियोजन गरेको थियो।

गाउँपालिकाले होमस्टेका महिलालाई होमस्टे तालीम र पुरुषलाई कालीगढसम्बन्धी तालीमहरु प्रदान गर्दै आएको उनले जानकारी दिए। गाउँका मानिसलाई सीपमूलक तालीम प्रदान गरेपछि आयआर्जन गर्न सहज भएको छ भने बसाइँसराइँ गरेका व्यक्तिहरु पनि गाउँ फर्किन थालेका छन् ।

उनका अनुसार यस वर्ष पनि होमस्टेका रु १० लाख विनियोजन भइसकेको छ । नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

परेवाडाँडाको टिकटक पार्क सञ्चालनमा

व्यास नगरपालिका–१० परेवा डाँडामा निर्माण गरिएको टिकटक पार्क सञ्चालनमा ल्याइएको छ । पिजन हिल रेष्टुरेन्ट एन्ड लजले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने हेतुले टिकटक (मनोरञ्जन) पार्क सञ्चालनमा ल्याइएको हो ।

पिजन हिल रेष्टुरेन्ट एन्ड लज नजीकै वडा कार्यालयले परेवाको मूर्ति स्थापना गरेको छ । परेवाको मूर्तिसँग फोटो खिचाउने आन्तरिक पर्यटकहरुको सङ्ख्या बढ्दै गएपछि पिजन हिल रेष्टुरेन्टका सञ्चालक विवेक सापकोटाले व्यक्तिगत लगानी गरी पर्यटकलाई आकर्षण गर्ने संरचनाहरु निर्माण गरेको छ ।

पर्यटकको चहलपहल बढ्दै गएपछि मादीनदी किनारमा लट्ठे पिङ, टिकटक पार्क, भ्यू टावर, गुफाभित्र कफी शपलगायत संरचनाहरु निर्माण गरिएको पिजन हिल रेष्टुरेन्ट एन्ड लज सञ्चालक विवेक सापकोटाले बताए। व्यापारिक मात्र नभईकन मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पार्कहरु निर्माण गरिएको छ । मानिसका लागि मन भुलाउने एकान्तस्थलका रुपमा विकास गर्न लागिएको हो । उनका अनुसार हालसम्म रु ८० लाख लगानी भइसकेको छ । अझै स्वीमिङ पुल, फनपार्कलगायत काम गर्न बाँकी रहेको उनले बताए।

व्यक्तिगत लगानीमा सञ्चालनमा ल्याइएको पार्कले यस क्षेत्रमा आन्तरिक पर्यटकहरु बढाउने विश्वास गरिएको छ ।

दमौली बजारबाट करीब ६ किलोमिटरको दूरीमा रहेको उक्त पार्क निकै आकर्षक रहेको छ । उक्त मनोरञ्जन पार्कमा बालबालिकाका लागि, पिङ, स्लाइड, झोलुङ्गो र अन्यको लागि पिङ, टिकटक बनाउनका लागि आकर्षकस्थल निर्माण गरिएको छ।

विभिन्न चराचुरुङ्गी, जनावर तथा देवीदेवताका मूर्तिहरु कलात्मकरुपमा निर्माण गरिएको पार्कमा बसेर स्थानीय विभिन्न परिकारको स्वाद लिँदै मादीनदीको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ । वडाध्यक्ष तुलसीराम सापकोटाले उक्त पार्कको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे।

परेवाको मूर्ति निर्माण

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोही वडास्थित परेवाडाँडामा परेवाको मूर्ति निर्माण गरिएको छ । मादीनदीकोस्थित पहरोमा परेवाहरु बस्ने गरे पनि पछिल्लो शिकार गर्दा विस्थापित भएपछि त्यसको संरक्षण गर्न वडाले परेवाको मूर्ति निर्माण गरेको हो।
पार्कको अगाडिको भागमा परेवाको मूर्ति निर्माण गरेपछि दैनिक आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि हुँदै गएको छ।

उक्त वडाभित्र रहेका दुम्सीचौर, कुमालटारी र पाथ्राघाटस्थल ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेकाले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष सापकोटाले बताए।

उनले भने, “ऐतिहासिकस्थलहरुको नाम नमेटिने गरी पहिलो चरणमा परेवाको जोडी बनाउन शुरु गरिएको छ ।”

मूर्तिकार ल्याएर उक्त स्थानमा एक परेवा जोडी बनाउन शुरु गरिएको र जोडीको मूर्ति निर्माणमा करीब रु ६ लाखको लागतमा परेवाको मूर्ति निर्माण गरिएको हो । उक्त परेवाको सात फिट लामो र करीब तीनदेखि चार टनसम्मको तौलको रहेको छ। रासस


प्रतिक्रिया दिनुहोस्