प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माग्यो– केही दिनको समय

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : २७


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगका पत्र बुझाएर फर्किएका छन् ।

निर्वाचन आयोगले शुक्रबार बिहान नेकपाका दुई पक्ष ओली र प्रचण्ड–माधवलाई निर्वाचनसम्बन्धी छलफलका लागि बोलाएका थियो । केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई छुट्टा–छुट्टै पत्र लेखेर अध्यक्ष आफैं वा अध्यक्षले तोकेका आधिकारिक प्रतिनिधिलाई आयोगले शुक्रबार छलफलका लागि बोलाएको थियो ।

ओलीका तर्फबाट महासचिव विष्णु पौडेलसहित नेताहरु र प्रचण्डका तर्फबाट नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान निर्वाचन आयोग पुगेका हुन् ।

तर, आयोगका पुगेका पौडेल, पाण्डे र प्रधान आयोगको छलफलमा भने सहभागी भएनन् । उनीहरु पत्र बुझाएर आयोगबाट फर्किएका हुन् ।

उनीहरुले अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल राजधानीबाहिर भएकाले छलफलमा सहभागी नहुने पनि आयोगलाई जानकारी गराएका छन् । अध्यक्ष प्रचण्ड बाहिर रहेकाले प्रतिनिधि मनोनयन गर्न पनि नसकिएको जानकारीसहित आयोगलाई पत्र बुझाइएको हो ।

नेकपाको केन्द्रीय कार्यालय श्रीराम ढकालले निर्वाचन आयोगलाई लेखेको पत्रमा पाण्डे र पौडेलले बुझाएका हुन् । पत्रमा केन्द्रीय कार्यालय सचिव ढकालले भनेका छन्, ‘अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड माघ १८ गतेसम्म उपत्यका बाहिरका विभिन्न राजनीतिक कार्यक्रममा व्यस्त रहने भएकाले प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहेको हुँदा सोको लागि आज (शुक्रबार) तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहन्छु ।’

माघ १८ गते पश्चात उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न पनि नेकपाको प्रचण्ड–नेपाल समूहले आयोगलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्