विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई एकजुट भएर पराजित गर्नुपर्छ : प्रधानमन्त्री

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १० : ३२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई सबैले एकजुट भएर पराजित गर्नुपर्ने बताएका छन् ।

‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानका लागि स्थीर राजनीति आवश्यक रहेको उनको भनाइ छ ।

शहीद दिवसका अवसरमा सन्देश दिँदै ओलीले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरिएको बताएका छन् ।

शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको उनको भनाइ छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ । सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ,’ ओलीको सन्देशमा भनिएको छ, ‘हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ । हाम्रा अमर शहीदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो।’

लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा गरेकोसमेत ओलीले बताएका छन् ।

‘सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको छ,’ सन्देशमा भनिएको छ, ‘हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ।’

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपद्मा परेका जनताको व्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको समेत दाबी गरेका छन् । सरकारले थालनी गरेका विकासका दूरगामी योजनाले जनताको जीवनमा परिवर्तन ल्याउने ओलीले बताएका छन् ।

जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण ओलीले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्