नेता बास्तोलालाई पक्राउ गर्नुको कारण सहित उपस्थित गराउन आदेश

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ५ : ५६


काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

बास्तोलाकी पत्नी हिमाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले प्रहरी प्रधान कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो।

न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले दिएको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो?निवेदकले माग गरेबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो?आदेश जारी हुन नपर्ने भए आधार कारणसहित २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू।’

यस्तै सर्वोच्चको आदेशमा बास्तोलाउपर कुनै कसुरमा अनुसन्धान भइरहेको भए सोको सक्कल मिसिलसमेत लिई उपस्थित हुन भनिएको छ।


प्रतिक्रिया दिनुहोस्