पूर्वमन्त्री बस्नेतले सम्पादकहरुलाई धम्क्याएकोमा पत्रकार महासंघको आपत्ति

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ५ : ४८


काठमाडौं । नेपाल पत्रकार महासंघले पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुटवलमा माघ १३ गते आयोजित युवाहरूको भेलालाई सम्वोधन गर्ने क्रममा पूर्वमन्त्री बस्नेतले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाहरूले अराजकता फैलाएको भन्दै कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका प्रधानसम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका महासंघको आरोप छ।

यस्तो छ महासंघको विज्ञप्ति

यस्तै नेपाल प्रेस युनियनले पनि पूर्वमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

मितिः २०७७ माघ १५

प्रेस विज्ञप्ति

पूर्वमन्त्री समेत रहेका नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई सार्वजनिक कार्यक्रममा धम्क्याएकाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली संचारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । नेपाली संचारजगतको मूल हिस्सा प्रतिमगनको विरुद्ध सतिसाल झै खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको छ । इकागजका सम्पादक हरि बहादुर थापा, कान्तिपुरका सम्पादक सुधिर शर्मा र रातोपाटीका सम्पादक ओम शर्माको नामै लिएर ओली समूहका बस्नेतले सार्वजनिक कार्यक्रममा धम्कयाउने कार्य यहि बर्बराहट मात्र हो भन्ने युनियनको बुझाई छ । सांसद अपहरण लगायत विगतमा विभिन्न विवादित कार्यमा संलग्न रहि पछिल्लो पटक साइबर सेना गठन गरि फरक मत राख्नेहरु विरुद्ध संगठित आक्रमण र दुष्प्रचार गर्दै आएका बस्नेतका तर्फबाट आएको यो धम्की ओली समूहले आफ्नो आलोचक बनेको संचार माध्यमलाई कसरी हेर्छ र कसरी मुख बन्द गर्न प्रयास गर्छ भन्ने उदाहरण पनि हो । लोकतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्धमा आफू र आफू सम्बद्ध संचार माध्यमलाई अविचलित रुपमा उभ्याउँदै आएका सम्पादहरुको पक्षमा नेपालका मात्र नभइ संसारका स्वतन्त्राप्रेमिहरु साथमा छन् । कायरहरुले दिने यस्ता धम्कीको पर्वाह नगरि आफ्नो कर्म जारी राख्न युनियन सबै सम्पादकहरुलाई आग्रह पनि गर्दछ । नेपाल प्रेस युनियन यस्ता धम्किपूर्ण अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्दै सम्बन्धित सम्पादकहरु र नेपाली संचारजगतसँग तत्काल माफि माग्न बस्नेतलाई सचेत गराउँछ । अन्यथा सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती रहँदै आएको युनियन यस्ता समाज तथा संचारमाध्यम विरोधी हर्कतको प्रतिवाद गर्न सक्षम रहेको यसै वक्तव्य मार्फत जानकारी गराउन चाहन्छ । सार्वजनिक रुपमा धम्की दिने यस्ता तत्वहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही गर्न स्थानिय प्रसाशनसँग युनियन जोडदार माग गर्दछ । धन्यवाद ।

अजयबाबु शिवाकोटी

महासचिव


प्रतिक्रिया दिनुहोस्