ओलीले श्री ३ महाराज बन्ने सपना देखे, निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ : प्रचण्ड

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ४ : २०


बुटवल । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीमा प्रस्तावित गरेको व्यक्ति केपी शर्मा ओली सामन्ती निरंकुशताको एजेण्ट बनेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले बुटवलमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली श्री ३ महाराज बन्न खोजेको आरोप लगाएका हुन् ।

‘म आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रस्तावित गरेका केपी ओलीले श्री ३ महाराज बन्ने सपना देखेका छन्, राजतन्त्रलाई लात्ती हान्ने नेपालीले ओलीको निरंकुशता स्वीकार्दैनन् । ओलीको निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिने विश्वास व्यक्त गरे । ‘मलाई विश्वास छ, अदालतले संसद पुनःस्थापना गर्नेछ । केही आशंका गर्दिनँ तर सबभन्दा ठूलो अदालत जनता हो, तपाईंहरूको फैसला अन्तिम हुनेछ,’ प्रचण्डले भने ।


प्रतिक्रिया दिनुहोस्