‘गाँजा नखानू’ भन्दा दाउराले हानेर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ४ : ३०


बाँके । बाँकेको राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचकको हत्या आरोपमा दुई पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका-१८ बस्ने राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापामगरको माघ २ गते शुक्रबार बिहान साढे ९ बजे हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

प्रवीणको शव उनको घरभन्दा साढे दुई किलोमिटर पर खेतमा मृत भेटिएका थिए। उनको टाउको तथा अनुहारमा चोट लागेको थियो ।

उनको हत्यामा आरोपमा नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्राका १८ वर्षीय विवेक परियार भक्तपुर चाँगुनारायण नगरपालिका-९ ताथलीबाट र नेपालगञ्जका अर्का युवा सुवास थापा पक्राउ परेका छन् ।

परियारलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले र थापालाई नेपालगञ्ज प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

प्रवीणको हत्यामा चार जनाको संलग्नता रहेको र अन्य दुई जना फरार रहेको ब्युरोले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाका अनुसार हत्या हुनु अघिल्लो साँझ परियार, थापासहितका युवा गाँजा खाएर बसेका थिए ।

झगडा भएपछि चार जना दाउराको किलोले हिर्काएर हत्या गरी फरार भएका थिए। परियारलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाउने तयारी भइरहेको सिआइबीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्