नवलपरासी । नवलपरासीमा एक महिलाले दुई छोरीसहित आफूले पनि विष सेवन गरी आत्महत्या गरेकी छन् ।
गएराति पश्चिम नवलपरासीको सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले आफूसँगै दुई छोरीलाई समेत विष खुवाएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
विष सेवनका कारण उनकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए ।
उपचारका क्रममा तीनै जनाको आज बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको डिएसपी लामाले बताए ।
विष सेवनपछि घरभित्र छट्पटिएपछि चिच्याएको आवाज सुनेपछि स्थानीय घरको छतबाट कोठामा पुगेका थिए ।
कोठामा दुई वटा चिया पिउने गिलासमा पानीजस्तो तरल पदार्थ देखिएकाले त्यसैमा विष राखेर छोरीहरूलाई दिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
मृतक चौधरीका श्रीमान जितेन्द्र रोजगारीका लागि विदेशमा छन् । अनिता दुई छोरीसहित घरमा बस्दै आएकी थिइन् ।