सरकारको निर्णय विपरित प्रदेश २ मा मन्त्रीले कोरोना खोप लगाएपछि आलोचना

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । आज(बुधबार) बाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारबाट खोप अभियानको सुरुवात गरेका थिए ।

सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोनाविरूद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको थियो ।

तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सो मापदण्डविपरीत आफैं पहिलो खोप लगाएका छन् । मन्त्रीले पहिलो खोप लगाएको भन्दै आलोचना भइरहेको छ ।

मन्त्री यादव यसअघि कोरोना संक्रमित भएका थिए।

उनीपछि प्रदेशिक अस्पतालकी नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

मन्त्री यादवले कोरोनाविरूद्धको खोप (कोभिडसिल्ड)लाई लिएर विभिन्न अफवाह रहेकाले सो अफवाह चिर्नकै लागि आफूले पहिलो खोप लगाएको प्रतिक्रिया दिए ।

प्रदेश २ मा एकैसाथ ३ अस्पतालबाट कोरोनाविरूद्धको खोप अभियान सुरू भएको छ ।

प्रदेश २ को जनकपुरधामस्थित प्रादेशिक अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजस्थित गजेन्द्रनारयाण सिंह सगरमाथा अस्पतालबाट कोरोनाविरूद्धको खोप लगाउने अभियान सुरू भएको हो ।

१० लाख डोज खोप बुधबारबाट थालिएको हो । सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुरुमा अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइनेछ ।


प्रतिक्रिया दिनुहोस्