कांग्रेस कार्यकर्ताको हत्या अभियोगमा नेकपा समर्थित वडाध्यक्ष पक्राउ

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । बझाङको छबिसपाथीभेरा गाउँपालिकाको वडानम्बर २ का वडाध्यक्ष विकास ऐडी हत्या आरोपमा पक्राउ परेका छन् ।

मंगलबार साँझ वडा नम्बर २ मा खुँडा प्रहार गरी एक युवकको हत्या भएको प्रकरणमा प्रहरीले वडाध्यक्ष ऐडीलाई पक्राउ गरेको हो । हत्या प्रकरणमा ऐडीसहित थप अन्य २ जनालाई पनि पक्राउ गरेको छ ।

मंगलबार दिउँसो छबिसपाथीभेरा गाउँपालिकाको वडानम्बर ३ स्थित बन्निचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा विवाद हुँदा सोही ठाउँका अमृत सिंहको खुँडा प्रहार गरी हत्या भएको थियो ।

हत्यामा संलग्न रहेको भन्दै प्रहरीले मंगलबार नै एक स्थानीय युवक ज्ञानबहादुर कडायतलाई पक्राउ गरिसकेको थियो । बुधबार प्रहरीले वडाध्यक्ष विकास ऐडीसहित प्रकाश ऐडी र केदार ऐडीलाई पक्राउ गरेको हो ।

स्थानीयका अनुसार वडाध्यक्ष ऐडीले प्रयोग गर्ने गरेको सरकारी नम्बरप्लेटको मोटरसाइकलमा २ जना युवक खुँडा बोकेर झगडा गर्न आएका थिए । झगडाकै क्रममा खुँडा प्रहार गरी अमृत सिंहको हत्या गरिएको स्थानीयले बताएका छन् ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका प्रकाश ऐडी छबिसपाथीभेरा गाउँपालिकाका रोजगार संयोजक हुन् । हत्याको घटनापछि फरार रहेका प्रकाश र केदारलाई प्रहरीले थलरा गाउँपालिकाबाट पक्राउ गरेको हो ।

बान्निचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जीत हासिल गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट कार्यकर्ताले विवाद शुरु गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेकपाका तर्फबाट छबिसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीका छोरा गजेन्द्रधामी र कांग्रेसका तर्फबाट लोकेन्द्र बोहोरा उम्मेदावर थिए । कांग्रेस उम्मेदवार बोहोरा विजयी भएपछि नेकपाका कार्यकर्ताले स्थानीय बजारमै कांग्रेस समर्थित सिंहमाथि खुँडा प्रहार गरेका थिए ।

खुँडा हानी हत्या गरिएका सिंह नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको छबिसपाथीभेरा गाउँपालिका समितिका सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस्