चुनाव हुँदा कांग्रेस–राप्रपालाई भोट हाल्दैनौं, ओली–प्रचण्डका राम्रा उम्मेदवारलाई रोज्छौं– वामदेव गौतम

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विभाजित समूहलाई मिलाउने भनेर पार्टी एकता अभियान घोषणा गरेका नेता वामदेव गौतमले आफू पनि प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा पार्टी एकता अभियानको घोषणा गर्न आयोजित सभामा बोल्दै नेता गौतमले संसद विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा रहेपनि आफू पनि संसद पुनर्स्थापनाको पक्षमा रहेको बताएका हुन् ।

‘अहिले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यो मुद्दामा सर्वोच्चले २ वटामध्ये एउटा निर्णय गर्छ, या त संसद पुनस्र्थान गर्छ, या त चुनाव गर भन्छ,’ गौतमले भने, ‘अहिलेको अवस्थामा मेरो चाहना संसद पुनस्र्थापित भइदेओस् भन्ने हो ।’

संसद पुनस्र्थापना पछि आफूहरुलाई २ वर्षको समय मिल्ने र त्यो अवधिमा विभाजित नेकपाका २ समूह (ओली र प्रचण्ड)लाई पुनः मिलाउन सक्ने उनको दाबी थियो ।

‘ओली र प्रचण्ड अहिले दुईतिर मुख फर्कार बसिरहनु भएको छ,’ गौतमले भने, ‘म दुवै जनाको मुख एक–अर्काकोतिर फर्काइदिन्छु ।’

नेता गौतमले सर्वोच्च अदालते संसद पुनस्र्थापना नगरी तोकिएकै मितिमा निर्वाचनमा जाउ भनेको अवस्थामा भने आफूहरु भोट हाल्न जाने गौतमले बताए ।

‘संसद विघटन गरेर वैशाख १७ र २७ गते चुनावको मिति तोकिएको छ । यदि संसद पुनस्र्थापना भएन र तोकिएकै मितिमा निर्वाचन हुने भयो भने हामी भोट हाल्न जान्छौं,’ नेता गौतमले भने, ‘भोट कसलाई हाल्छौं भने हाम्रा दुई समूहमध्ये तुलनात्मक रुपमा राम्रा उम्मेद्वार छानेर भोट हाल्छौं । कांग्रेस र राप्रपालाई भोट हाल्दैनौं । नेकपाबाट फुटेकैलाई नै भोट हाल्छौं, तर राम्रा उम्मेदवार छानेर ।’


प्रतिक्रिया दिनुहोस्