हिसाब निकाल्दै वामदेवले भने- फुटेर गइयो भने हार्ने निश्चित छ

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १ : १२


काठमाडौं । नेकपाका उपाध्यक्ष एवं ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका सबै नेता कार्यकर्ता एकताको पक्षमा रहेको दावी गरेका छन् ।

बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले प्रधानमन्त्री ओली बाहेक सबै एकताको पक्षमा रहेका दावी गरेका हुन् ।

उनले प्रचण्ड–नेपाल पक्ष पनि एकताको पक्षमा रहेका कारण पार्टी एकता भएरै छाड्ने बताए ।

गौतमले फुटेर निर्वाचनमा जाँदा नेकपा पराजित हुने निश्चित रहेको बताएका छन् ।

उनले नेकपा एकता अभियानको औपचारिक घोषणा गर्ने क्रममा अघिल्लो चुनावी नतिजाको आँकडा प्रस्तुत गर्दै विभाजित नेकपाले चुनाव जित्न नसक्ने दाबी गरे ।

गत निर्वाचनमा प्राप्त मतलाई आधार मानेर वामदेवले कार्यक्रममा हिसाव प्रस्तुत गरे ।

‘दुई पार्टी मिलेर ल्याएको मत जम्मा ४३ लाख हो । नेपाली कांग्रेसले ल्याएको ३० लाख हो । अब अहिलेसम्म ५-७ लाख मतदाता बढे होला । विभाजित अवस्थामा हाम्रो पक्षमा लहरमा आउने छैन । त्यसैले दुईतर्फ भोट बाँडिदा २१-२१ लाख लाख हुन्छ । २२ लाख मात्रै अर्को पार्टीले मत प्राप्त गर्यो भने हामीलाई पछार्छ’ गौतमले भने,’कांग्रेसले पहिल्यै ३० लाख ल्याएकोमा अब झन् बढ्न सक्छ । त्यसैले नेकपा पराजित हुने भन्दा अर्को विकल्पै छैन । दुई चार ठाउँमा जिन्त सकिएला । फुटेर गइयो भने हार्ने निश्चित छ । अर्को पार्टी सरकारमा पुग्ने पक्का छ । अहिले दुवै पक्षले चुनाव जित्छौं भनेका छौं । त्यसलाई सिद्धान्तले गलत सावित गर्छ । निर्वाचन निर्माणका निम्ति हो, ध्वंसका निम्ति होइन ।’


प्रतिक्रिया दिनुहोस्