कोरोनाको खोपलाई व्यापार र नाफाको विषय बनाइनु हुँदैन– प्रधानमन्त्री ओली

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ११ : ३२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोपलाई नाफा कमाउने र व्यापारको विषय बनाउन नहुने बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने पनि बताए । सर्वसुलभ रुपमा खोप उपलब्ध भए मात्रै कोरोनाविरुद्धको लडाइँमा जित हात पर्ने उनको भनाइ छ ।

‘कोरोनाविरुद्धको खोप नाफा कमाउने र व्यापारको विषय हुनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यो खोप सबैको पहुँचमा हुनुपर्छ । गरिब धनी सबै देशको पहुँचमा हुनुपर्छ ।’

कोरोना भाइरस विश्व अर्थतन्त्र र सिंगो मानव जातिविरुद्ध भएकाले खोपको उपलब्धता पनि सबैको पहुँचमा हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकलाई प्राथमिकताका आधारमा कोरोना खोप नि:शुल्क उपलब्ध गराइने पनि बताए ।

सक्ने देशहरुले नसक्नेहरुलाई नि:शुल्क रुपमा कोरोना खोप उपलब्ध गराएर सिंगो मानव जातिको कल्याण गर्नुपर्नेमा ओलीले जोड दिए ।

कोरोनाविरुद्धको खोप अभियानमा सिंगो राष्ट्र नै एकजुट भएर लागेको उल्लेख गर्दै ओलीले खोप अभियान र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवीलगायतलाई पनि धन्यवाद दिए ।


प्रतिक्रिया दिनुहोस्