संवैधानिक इजलासमा बहस– संसद विघटन गर्न अधिकारै छैन बाबा !

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  २ : २९


काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज (मंगलबार) पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा गत आइतबार (माघ ४ गते)देखि विषयवस्तु केन्द्रित भएर सुनुवाई भइरहेको हो ।

मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापाले आफ्नो बहसलाई बिट मारेका छन् । सोमबार डेढ घण्टा बहस गरेका थापाले मंगलबार पनि करिब डेढ घण्टा नै समय लिएर बहसलाई टुंग्याएका हुन् ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता थापाले आइतबार आइतबार प्रधानमन्त्रीलाई हालको अवस्थामा प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको जिकिर गरेका थिए । आफूसँग भएको संविधानको प्रति (किताब)मा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार नभएको उल्लेख गरेका थापाले ‘प्रधानमन्त्रीसँग भएको संविधान अर्के पो हो कि !’ भनेर व्यंग गरेका थिए ।

मंगलबार पनि थापाले प्रधानमन्त्री (केपी शर्मा ओली)ले संविधानभन्दा बाहिर गएर संसद विघटन गरेको जिकिर गरे । ‘सदनमा नगइकन प्रधानमन्त्री र संसद समाप्त हुँदै हुँदैन,’ थापाले भने ।

प्रधानमन्त्रीलाई सरकार चलाउने मन नभए राजीनामा दिनुपर्ने जिकिर गर्दै वरिष्ठ अधिवक्ता थापाले संसद विघटनको अधिकार नभएको तर्क गरे । ‘सरकार चलाउने मन छैन भने राजीनामा दिने हो,’ थापाले भने, ‘संसद विघटन गर्न अधिकारै छैन बाबा ।’


प्रतिक्रिया दिनुहोस्