पशुपति आर्यघाटमा जलाउँदै गरेको अवस्थामा प्रहरीद्वारा एउटा शव बरामद

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । प्रहरीले पशुपति आर्यघाट क्षेत्रमा जलाउँदै गरेको एउटा शव बरामद गरेको छ ।

हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको हो ।

घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।  डीएसपी बस्नेतका अनुसार बरामद शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

अनुसन्धानका लागि प्रहरीले मृतक बबिता चौधरीका श्रीमान ३८ वर्षीय रवि चौधरी र चल्ली भनिने अनु थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अनु थापाको मोबाइल चोरी गरेको भन्दै ४ दिन अगाडि कुटपिट भएको खुलेको छ । ‘४ दिन अगाडि मृतकले अनुको मोबाइल चोरेको भन्ने खुलेको छ, त्यसैले उनले अरु २/३ जना महिला लगाएर कुटपिट गरेको पाइएको छ,’ डीएसपी बस्नेतले सुनाए, ‘टाउको र आँखामा चोट लागेका कारण उनी त्यसपछि हिँड्न नसकेर त्यहीँ लडेकी रैछिन् ।’

कुटपिट पछि गम्भीर अवस्थामा पुगेकी बाबितालाई शनिबार त्यहीँ लडिरहेको देखेपछि रवि र अनुले मन्दिरभित्र आश्रममा सुताइदिएको पाइएको प्रहरीले जनाएको छ । तर, त्यसवेलासम्म बबिताको मृत्यु भइसकेको हुनसक्ने आशंका गरिएको छ ।

डीएसपी बस्नेतका अनुसार मिस्त्री पेशामा संलग्न रवि र अनुले केहीपर लगेर खाल्डोमा पुर्ने प्रयास गरेको हुनसक्ने देखिएको छ । तर, पुर्न अफ्ठ्यारो भएपछि आगो लगाएको प्रहरी आशंका छ ।

प्रहरीले शव बरामद गर्दा शवको अधिकांश भाग जलिसकेको थियो । उनीहरु मन्दिरकै आश्रममा बस्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्