नयाँ कोरोना भाइरस पहिलेको भन्दा धेरै खतरनाक : बेलायती प्रधानमन्त्री

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ५६


काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् ।

वैज्ञानिकहरुले कोरोनाको नयाँ प्रकार पहिलेभन्दा ७० प्रतिशत संक्रामक भएको बताइरहँदा प्रधानमन्त्री जोन्सनले यस भाइरस पहिलेभन्दा घातक भएको बताएका हुन् ।

प्रधानमन्त्री जोन्सनले भनेका छन्,‘यो भाइरस पहिलेको भन्दा धेरै नै खतरान छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्छ।’

शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले त्यस्तो बताएका हुन् ।

हाल बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस ६० भन्दा बढी देशमा पुगिसकेको छ ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेका केही हप्ता यता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्