चिकित्सकको सुझाव– लक्षणहरुको आधारमा पत्ता लगाउनुहोस् तपाईंलाई मुटु रोग छ कि छैन

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


जनचेतनाको कमिले मुटु रोगको समयमै पहिचान (Diagnosis of Heart Disease) नभएर लाखौं मानिस असामयिक मृत्युको शिकार हुन पुग्छन् ।

मुटु रोग प्राणघातक रोग हो र समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुख कारण मानिन्छ । नेपालमा पनि सबभन्दा बढी मानिसको मृत्यु मुटु रोगले नै हुने गरेको तथ्याङ्क छ ।

समयमै मुटु रोगको पहिचान गर्न सकिएमा, व्यक्तिले उचित उपचार पाउने अवस्था भए रोगलाई सजिलै सँग निको पार्ने र जटिलताबाट बच्ने सम्भावना प्रबल हुन्छ ।

यसको लागि मुटु रोगको निदान प्रारम्भिक अवस्थामै हुनु जरुरी हुन्छ । रोगले जटिलता लिइसकेपछि उपचार कठिन , महँगो, लामो र निको नहुने अवस्थामा पुग्ने भएकोले  लक्षणकै आधारमा रोगको अवस्थाबारे शुरुवातमै पत्ता लगाउनु पर्छ ।

अधिकांश मुटु रोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् ।

मुटु रोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा मुटु रोग भए नभएको पत्ता लगाउँछन् ।

लक्षणहरुकै आधारमा केही जाँचहरुको मद्दतले मुटु रोगको निदान गर्ने गरिन्छ ।

यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजिकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्राणघातक मुटु रोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।

मुटु रोगका प्रमुख लक्षणहरु 

छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु मुटु रोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटु रोग नै भयो भनेर सोच्नु गलत होला ।

लक्षणहरुको राम्रो विश्लेषण (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटु रोग भएको शंका गरेर आवश्यकता अनुसार चिकित्सको परामर्श  लिन सक्नेछन् ।

मुटु रोग पत्ता लगाउनमा जोखिमहरुको (Risk Factors) बारेमा जानकारी पाउन जरुरी हुन्छ । लक्षणलाई समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटु रोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ ।

चुरोटको सेवन (Smoking) , मुधुमेह (Diabetes), उच्चरक्तचाप (High BP), उच्चकोलेस्ट्रोल (High Cholesterol) , मोटोपना (Obesity) , अत्याधिक मदीरापान, मानसिक तनाव (Stress) , वंशाणुगत (परिवारमा मुटु रोग),उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला)आदि रिस्क फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ ।

एक भन्दा बढी जोखिमहरु भएमा मुटु रोगको झन् बढी संभावना हुन्छ ।रिस्क फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटु रोगकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ ।

१) छाती दुख्नु (Chest Pain, Angina)

छाती दुख्नु/ पोल्नु वा दबाबको अनुभव गर्नु मुटु रोगको प्रमुख लक्षण मानिन्छ, तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी/करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ ।

मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ ।

खोक्दा, दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ ।

छातीको सानो भागमा ५ वर्ग से.मी. क्षेत्रफल भन्दा कम भएमा प्राय: मुटुको नभएर मांसपेशीको दुखाइ ले हुन्छ ।

मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटु रोगको कारणले हो बुभ्नु पर्छ ।

२) स्वाँस्वाँ हुनु (Breathlessness)

स्वाँस्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक भएमा पनि स्वाँस्वाँ हुनसक्छ ।

प्राय: उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु, थकाइलाग्नु मुटु रोगको लक्षण हुनसक्छ ।

आफ्नो उमेरको हिसाबले (दुरी/गति) हिड्न नसक्नु वाबीचमा रोकिने अवस्था आउनु मुटु रोगको लक्षण हुनसक्छ ।

३) मुटु ढुकढुक हुनु (Palpitation)

मुटु ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ ।

यस्तो अवस्थामा कामगर्दा, हिड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ ।

तर मुटु रोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्राय: केही सेकेण्डको लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

४) खुट्टा सुन्निनु (Leg Swelling, Edema)

खुट्टा सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मृगौला र मुटु रोग हुन्छ । सिकिस्त कारण भएमा खुट्टा संगसंगै पेट र अनुहार पनि सुन्निएको हुन्छ । प्राय: उच्चरक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन सामान्य मानिन्छ ।

खुट्टा सुन्निएको संगसंगै स्वाँस्वाँ भएमा वा अन्य लक्षण देखिएमा मुटु र मृगौलाको जाँच जरुरी हुन्छ ।

५) बेहोश हुनु (Loss of Consciousness, Syncope)

बेहोश हुनु वा बेहोश हुन खोज्नु मुटु/मस्तिष्क/मानसिक आदिकारणले हुनसक्छ ।

स्वस्थ व्यक्ति बेहोश भएमापनि एकपटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त जाँच र उपचार गर्नु उचित हुन्छ ।

६) थकाई लाग्नु (Fatigue)

थकाई लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको केहीकारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटु रोग पनि एक कारण हुनसक्छ ।

मुटु कमजोर हुनु (हार्ट फेल्योर), धड्कन बढी हुनु, जन्मजात रोगहरु र बाथ मुटु रोगमा यस्तो लक्षण हुनसक्छ । थकाई संगसंगै अरु लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।

माथि उल्लेखित लक्षण  देखिने वित्तिकै  मुटु रोग हुन्छ भन्ने जरुरी छैन । यी लक्षणहरुलाई त्यो व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, मुटु रोगका जोखिम्हरु, वंषाणुगत् कारण, लक्षणको तीव्रता र समय आदी कुरा हरुले प्रभाव पार्छ । तर जरुरी कुरा के हो भने तपाईंलाई यस्ता केही लक्षण देखिन्छन् भने तत्कालै चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ ।


डा. ओम मुर्ती अनिल, वरिष्ठ मुटु रोग विशेषज्ञ


प्रतिक्रिया दिनुहोस्