केपी ओलीलाई केही समय जेल राखेर निकाल्ने माधव नेपालको चेतावनी

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ३ : ३०


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकार गरेमा केही समय जेलमा राखेर माफी दिन सकिने बताएका छन् ।

शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा बिघटन गरेर ओलीले गल्ती गरेको भन्दै त्यसलाई स्वीकार गरे माफी दिन सकिने नभए गल्तीदगर्नेलाई जेल सजाय हुने उनले बताए ।

ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ पर्खिरहेको उनले बताए ।

नेता नेपालले भने, ‘हामीले केपी ओलीलाई अध्यक्षबाट निष्कासन गर्‍यौं । अब अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधेका छौं । उहाँले जवाफ दिनुभएको छैन ।’

‘म त भर्खरै कर्णालीबाट आउँदैछु । कतै जवाफ आइहाल्यो कि भन्ने पनि लाग्यो । प्रचण्ड, झलनाथ, नारायणकाजीहरुसँग कुराकानी गर्न पाएको छैन । सुध्रेको कुनै कागज आएको छ कि, गल्ति गरेको स्वीकार गरिहालेका छन् कि कतै माफी नै मागेका छन् कि ? ‘अध्यक्ष नेपालले भने,’प्रतिनिधिसभाको विघटन गर्नु गलत हो, त्यो पुनस्र्थापनाको निम्ति जुलुसमा समेल हुन्छु भनेका छन् कि ? मान्छेले गल्ति गर्छन्, अपराध गर्छन् । अनि समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । अथवा सुरुमै माफी पनि दिउँला । तर कसैले पनि भ्रम नराखौं, फेरि केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्ने छैन । सँगै जाने स्थिति बन्ला भन्ने कसैले भ्रम नपाले हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्