नेपाली मूलका प्रबलले डिजाइन गरेको कोटमा सजिइन् अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङ विश्वमै चर्चित छन् । हलिउडदेखि बलिउडसम्मका सेलिब्रेटीका लागि फेसन डिजाइन गरिसकेका गुरुङको डिजाइन राजनीतिक व्यक्तित्वले समेत रुचाउने गर्छन् ।

नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएकी छन् ।

भर्चुअल रुपमा भएको उक्त सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको गुरूङले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

जनवरी २०मा भएको सपथ समारोहपछि राष्ट्रपति जो बाइडेन र ह्यारिस भर्चुअल प्रार्थना सभामा गएका थिए ।

उक्त सभामा ह्यारिसले कलेजी रुङ (मरून कलर) को लङ कोट लगाएकी थिइन् ।

बाराक ओबामा राष्ट्रपति हुँदा उनकी पत्नी (प्रथम महिला) मिसेल ओबामाले प्रबलले डिजाइन गरेको लुगा लगाएकी थिइन । मिसेलले लगाएको लुगाका कारण पछि प्रबलको चर्चा चुलिएको थियो ।

नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला र प्रबलको सम्बन्ध भने लामो छ । यसअघि गत वर्ष डेमोक्र्याटिक पार्टीको राष्ट्रिय भेलामा पनि कमलाले प्रबलले डिजाइन गरेको लुगा लगाएकी थिइन् ।

नेपाली मूलका गुरूङले सन् २००९ देखि अमेरिकाको न्युयोर्कमा फेसन डिजाइन थालेका थिए ।


प्रतिक्रिया दिनुहोस्