काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने कारागार चलान भएका छन् ।
जिल्ला अदालत भक्तपुरले न्यौपानेसँग ३५ लाख रुपैयाँ धरौटी माग गर्दा न्यौपानेले तिर्न नसक्ने बताएपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
उनीसँगै पक्राउ परेका दुईजना भने धरौटी तिरेर छुटेका छन् ।
सोही कलेजका पूर्वलेखा नियन्त्रक रामकुमार श्रेष्ठ १० लाख र पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा सहायक प्रशासक चोलाकान्त च्वाई ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
कलेजमा करौडौं भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीविरुद्ध गत असोज ३० गते प्रा.डा. हरिकृष्ण श्रेष्ठले जाहेरी दिएका थिए ।
यो मुद्दाका प्रतिवादीहरुबाट ५२ करोड ९६ लाख ८९ हजार ६ सय २९ रुपैयाँ कलेजलाई बिगोस्वरुप भराउन माग गरिएको छ ।
न्यौपानेबाट मात्रै ३३ करोड ७५ लाख १७ हजार ६ सय ४७ रुपैयाँ १ पैसा कलेजलाई भराइ पाउन माग गरिएको छ। सोही मुद्दामा अरु १ जनाको मृत्यु भइसकेको छ भने ४ जना फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
न्यौपानेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको आरोपमा मुद्दा दायर भएको थियो।
आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले आयोगका तत्कालीन आयुक्त पाठकलाई ७८ लाख घुस दिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो।