काठमाडौं । नेपाली आधुनिक गीतसंगीतका साधक धुव्र केसीको निधन भएको छ।
७६ वर्षीय गायक केसीको बिहीबार साँझ भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
केसी लामो समयदेखि पार्किन्सन रोगसँग लडिरहेका थिए।
२०/३० को दशकमा नेपाली संगीतमा निकै उत्कृष्ट गीतहरु दिएका केसी नेपालमा नाम चलेका गायक हुन्।
गायक केसीले ‘मायालु हजार हुन्छन्’, ‘बगीजाने खोला’, ‘सबले भन्छन्’, ‘तिम्रो माया कागजको’ र अभिनेता भुवन केसीसँग ‘अरु कालो रेलको धुँवाले’ गीत गाएका छन्।
‘मायालु हजार हुन्छन्’ बोलको गीत नयाँपुस्ताको पनि रोजाइमा पर्न सफल गीत हो। गोपाल योन्जनको शब्दमा रहेको यो गीतले धुव्र केसीलाई चर्चाको शिखरमा पुर्याएको थियो।
विसं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट जेठो छोराको रुपमा उनले जन्म लिएका थिए।
गायक केसी अभिनेता भुवन केसीका काका हुन्। नेपालमा गायनमा नाम कमाएका केसी केही समय भारतमा अभिनयको लागि संघर्ष गर्न गएका थिए।
उनको परिवारमा तीन छोरी रहेका छन्। उनको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।